न्युजर्सीमा आजदेखि नयाँ नियम, प्रहरीले आप्रवासी हैसियत सोध्न नपाउने


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

न्युजर्सीमा आजदेखि आप्रवासी मैत्री नियम लागु गरिएको छ । न्युजर्सी प्रहरी र आप्रवासीहरुबीचको विश्वासमा सुधार ल्याउनका लागि नयाँ नियम लागु गरिएको हो ।

आजदेखि न्युजर्सीका स्थानीय र राज्य प्रहरीले कुनै पनि व्यक्ति अमेरिकामा कागजपत्रविहिन रहेको आशंकामा रोक्न, प्रश्न सोध्न, पक्राउ गर्न, खानतलासी लिन वा हिराशतमा राख्न पाउनेछैनन् । गम्भीर प्रकारको अपराधको अनुसन्धानबाहेक अन्य सन्दर्भमा प्रहरीले व्यक्तिको आप्रवासी हैसियत सोध्न पाउनेछैनन् ।

न्युजर्सीका प्रहरी अधिकारीहरु अमेरिकी अध्यागमनका छापाहरुमा सहभागी हुन पाउनेछैनन् । स्थानीय प्रहरीहरुले पनि उनीहरुका तथ्यांक, श्रोतसाधन, कार्यालयको स्थानमा अध्यागमन अधिकारीहरुलाई पहुच दिन पाउनेछैनन् । तर आपतकालिन अवस्थामा भने स्थानीय प्रहरी र आइसले एकसाथ काम गर्न सक्नेछ ।

न्युजर्सीमा रहेका जेलहरुमा रहेका विभिन्न अपराधमा रहेका आप्रवासीहरुलाई अध्यागमन अधिकारीहरुले अन्तरवार्ता लिन पाउनेछैनन् । जेलमा रहेको व्यक्तिले स्वीकृतिपत्रमा हस्ताक्षर नगरेसम्म वा वकिलसँग राय नलिएसम्म जेलका अधिकारीहरुले आइसलाई त्यस्तो पहुच दिनेछैनन् ।

आइसका अधिकारीहरुलाई त्यस्तो पहुच प्रदान नगरिएपछि आइसले न्युजर्सीमा आफ्नो छापा झन् तीब्र पार्ने चेतावनी दिदै आएको छ ।

प्रहरी कार्यालयहरु, अभियोजनकर्ताहरु र कानुन कार्यान्वयन निकायहरुले घटनाका पीडित वा प्रत्यक्षदर्शी कागजपत्रविहिन भएको खण्डमा विशेष भिसाको आवेदनका लागि सघाउनुपर्नेछ । टी र यु भिसाका लागि प्रहरीले कागजपत्रविहिनहरुलाई सघाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com