ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित भएको छ । एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । तर संकटकालबिरुद्ध अमेरिकी सदनमा प्रस्ताव पेश गरिएको थियो । प्रतिनिधिसभाले पारित गरेको उक्त प्रस्ताव सिनेटबाट पनि पारित भएपछि ट्रम्पको नैतिकरुपमा पराजय भएको छ ।

सिनेटमा संकटकालबिरुद्धको प्रस्तावका पक्षमा ५९ मत खसेको थियो भने प्रस्तावको विपक्षमा ४१ मत खसेको थियो । रिपब्लिकन बहुमत रहेको सिनेटबाट पनि ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव पारित हुनुले राष्ट्रपति ट्रम्पलाई राजनीतिक हिसाबले कमजोर बनाएको छ ।

अहिलेको सिनेटमा रहेका एकसय सदस्य संख्यामध्ये रिपब्लिकनहरु ५३ जना र २ स्वतन्त्र सहित डेमोक्र्याट्सहरु ४७ जना रहेका छन् ।

हाउसमा भने प्रस्तावको पक्षमा २४५ र विपक्षमा १८२ मत परेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ताका लागि भियतनाम भ्रमणमा रहेका बेला अमेरिकी संसदको तल्लो सदनबाट संकटकाल खारेज गर्ने प्रस्ताव पारित भएको हो । हाउसमा प्रस्तावको पक्षमा १३ रिपब्लिकन सांसदहरुले पनि मतदान गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको भिटो पावरलाई ओेभरराइड गर्नका लागि संसदबाट दुईतिहाई बहुमतले प्रस्ताव पारित हुन जरुरी छ । त्यसका लागि भने पस्तावको पक्षमा दुईदिहाई मत खस्न सकेको छैन । दुईतिहाईका लागि २९० मतको आवश्यकता छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com