राजपाद्वारा संसद अवरुद्ध , प्रतिवेदन सार्वजनिक गर्न माग


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले माग गरेकामा सरकारबाट आलटाल गर्दै गम्भीरतापूर्वक नलिएर हलुका ढङ्गबाट जवाफ आएको छ ।” तत्कालीन आन्दोलनरत मधेसी मोर्चा र शेरबहादुर देउवाको नेतृत्वको सरकारबीच थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानबीनका लागि आयोग गठन गरिएकामा तीन हजार २६४ मुद्दासहित समेटिएको प्रतिवेदन बुझाइएको थियो ।

राज्यको चरित्र र सरकारको कामकारवाही उदाङ्ग हुने डरले प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाउँदै नेता यादवले थारु र मधेस आन्दोलनलाई बदनाम गराउने र भ्रम छर्ने काम भएको छ भन्नुभयो ।

सांसद यादवले उक्त विषय सदनमा राखेपछि सभामुख महराले सो विषयमा आफूले सरकारलाई निर्देशन गरेको हुँदा आआफ्नो स्थानमा बसेर सदनको बाँकी काम सञ्चालन गर्नका लागि सहयोग पु¥याउन आग्रह गर्नुभयो । आफ्नो उक्त आग्रहपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेकाले सभामुखले प्रतिनिधिसभाको पहिलो बैठक १० मिनेटका लागि स्थगन भएको घोषणा गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com