देवदहमा तरुण दलका कार्यकर्ताको हत्या आरोपमा पाँचजना पक्राउ


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

नेपाल तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्यामा संलग्नको आरोपमा पाँचजना पक्राउ परेका छन् । देवदह नगरपालिका ९ का २१ वर्षका अर्जुन मगर, २० वर्षका सुवास अर्याल, २८ वर्षका रमेश शाही, २१ वर्षका आकाश थापा र २१ वर्षकै शिशिर राना पक्राउ परेका प्रहरीले जनाएको छ ।

आईतबार राति ८ बजेतिर मोटरसाइकलमा सवार देवदह नगरपालिका ५ का २३ बर्षका अनिश पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा साँझ ८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेका प्रहरीले जनाएको छ ।

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com