रावत र सरकार संझौता भ्रमपुर्ण र रहस्यमय : अध्यक्ष थापा
प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनवादी नेता सिके रावतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाई थप विखण्डन तर्फ धकेल्ने बताउनुभयो ।
सोमबार तुलसीपुरमा आयोजना गरेको सडक साक्षात्कार कार्यक्रममा राप्रपा नेता थापाले उक्त कुरा बताउनु भएको हो ।
विखण्डनवादी नेता रावतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको उहाँले बताउनुभयो । ‘वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र रावतबीच भएको संझौता भएको लगत्तै जनकपुरमा सिके रावत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षाघेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’, नेता थापाले भन्नुभयो ।
संझौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफु तराइलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहाँले बताउनुभयो । त्यसैगरी साक्षात्कार कार्यक्रममा उहाँले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि बताउनुभयो ।
‘चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । त्यसैगरी सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मनिरपेक्षता हटाई नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उहाँको माग थियो ।
त्यसैगरी एक अर्को प्रसंगमा नेता थापाले सरकारले राष्ट्र विखन्डन गर्ने एजेण्डा बोकेकालाई गला लगाएर स्वागत सम्मान गर्ने , राजनितिक परिर्वतन गर्न खोजेको विप्लव नेतृत्व पार्टीलाई दमन गर्ने सरकारको जुन निती लिएको छ त्यसले भविष्यमा खतरा हुने समेत बताउनुभयो ।
विप्लव उठाएको राजनितीक विषयमा आफुहरु सहमत नभएको भन्दै विप्लव समुहलाई पनि बन्दुक छाडेर जनताको वलमा आन्दोलनमा आउन आग्रह गर्नुभयो । साथै आफुले पार्टिको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पारे । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’-नेता थापाले भन्नुभयो ।
त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन आम नेपालीलाइ आव्हान गर्नभयो ।
विसं २०६२-०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरीकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथी आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताउनुभयो । सो कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारी लगायतले बोल्नु भएको थियो ।