एसाइलम खोज्ने ५० जनालाई एरिजोना बस स्टेशनमा छाडियो, अढाई महिनामा साढे १४ हजार रिहा


प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

रिहा गरिएका एसाइलम आवेदकहरुको संख्या बढ्दो रहेको र उनीहरुको व्यवस्थापनमा समस्या रहेको आप्रवासी सहायता समुहहरुले जनाएका छन् । शुक्रबारमात्र एरिजोनाको बकआईमा रहेको ग्रहाउण्ड बस स्टेशनमा ५० जना आप्रवासीलाई छाडिएको छ ।

आइसले यसरी बस स्टेशनमा छाडेका एसाइलम खोज्ने आप्रवासीहरुलाई विभिन्न संघ संस्थाले आश्रय दिदै आएका छन् । गतहप्तासम्म आफूहरुले त्यसरी छाडिएकाहरुलाई प्रिपेड फोन उपलब्ध गराउनुका साथै लक्ष्यसम्म पुग्न सहयोग गरेको आप्रवासी सहायता संस्था लास्टमाइलले जनाएको छ ।

गतसाता आइसले झण्डै ५ सय एसाइलम आवेदकलाई ग्रेहाउण्ड बस स्टेशनमा छाडेको थियो । उनीहरुलाई स्वीकार गर्ने कुनै चर्च नभएपछि यसरी स्टेशनमा छाडिएको थियो ।

अधिकांश आप्रवासीहरु ग्वाटेमालाका रहेका छन् । उनीहरु अँग्रेजी वा स्पानिस समेत बोल्न नजान्ने त्यहाँका आदिवासीहरु रहेको जनाइएको छ ।

सन् २०१८ को डिसेम्बर २१ देखि मार्च ५ सम्म आइसले एरिजोनामामात्र साढे १४ हजार जनालाई रिहा गरेको जनाएको छ । आइसले त्यस्ता आप्रवासीहरुलाई सहयोग गर्ने संस्थाहरुसँग समन्वय गरिरहेको जनाइएको छ ।

प्रोसेसिङ सेन्टरहरु भरिएको र चर्चहरु पनि भरिएकाले स्थानीय सरकारबाट आफूहरुले सहयोगको अपेक्षा गरेको आप्रवासी सहायता संस्थाहरुले जनाएका छन् । फिनिक्स सिटीले सहायतासंस्थाहरुका तर्फबाट अनुरोध सहित फोनकलहरु आएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com