ज्याक्शन हाइटको ७५ स्ट्रिट अब ‘माउण्ट एभरेष्ट वे’
प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्शन हाइटको बाटोलाई ‘माउण्ट एभरेष्ट वे’ नामाकरण गर्दैछ । आज न्यूयोर्क राज्य सरकारले एक भव्य समारोहका बीच ज्याक्शन हाइटस्थित ७५ स्ट्रिटको २५ देखी ३१ एभिन्यूसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने कार्यक्रम छ ।
यस्तो प्रस्ताव न्यूयोर्क सिटी काउन्सील मेम्बर कोष्टा कोन्स्टाटिनिजेडले सिटी काउन्सीलको बैठकमा राखेर पास गरेका हुन् । कोष्टा न्यूयोर्क सिटी काउन्सील अन्र्तगत २२ डिष्ट्किका सदस्य छन् । नेपाल सरकारको बाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा हुन लागेको माउण्ट एभरेष्ट वे घोषणा तथा स्ट्रिट फेस्टिवल कार्यक्रममा सहभागि हुन आयोजकहरुले सबैमा आग्रह गरेका छन् ।
आयोजकहरुले नेपालीहरुलाई कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गरिदिन आग्रह गर्दै कार्यक्रम अवधिभर कुनै पनि असभ्य कृयाकलाप नगर्न र यदी कुनै घटना भएमा न्यूयोर्क प्रहरीले घटनालाई नियन्त्रणमा लिने जानकारीको पत्राचार भएको जनाएका छन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीको संयोजकत्वमा बनेको एक कार्यसमितिले घोषणा कार्यक्रम सम्पन्न गर्नका लागि सबै तयारी पुरा भएको जानकारी दिएको छ ।