राष्ट्रसंघका स्थायी प्रतिनिधि राईबाट न्युयोर्क मुख्यालयमा महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेश


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज आयोजित विशेष समारोहकाबीच राईले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेश गरिसकेपछिको औपचारिक भेटघाटमा महासचिव गुटिरेजले मन्त्री रविन्द्र अधिकारीको निधनप्रति दुख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । महासचिवले राजदूत राईलाई बधाई दिनुका साथै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिका रुपमा स्वागत समेत गर्नुभयो । उहाँले राष्ट्रसंघ र नेपालबीचको सम्बन्ध सुदृढ बनाउन आवश्यक सहयोगको सुनिश्चितता समेत व्यक्त गर्नुभयो ।

भेटमा राजदूत राईले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका तर्फबाट महासचिव गुटिरेजलाई शुभकामना सन्देश समेत सुनाउनुभएको थियो । राजदूत राई न्युयोर्क आएर गत मार्च ५ देखि कार्यभार सम्हाल्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com