एसाइलम आवेदकलाई खुशीको खबर, क्रेडिबल फियर उत्तिर्ण नगरेपनि अपिल गर्न पाउने


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

अमेरिकामा एसाइलम दावी गर्नेहरुले क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण नगरेको खण्डमा देशनिकाला गरिदै आएकोमा अब क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण नगर्नेहरुले पनि अपिल गर्न पाउने भएका छन् । क्यालिफोर्नियाको संघीय अपिल कोर्टले बिहिबार जारी गरेको आदेशमा प्रारम्भिक अन्तरवार्ता अनुत्तिर्ण गर्ने एसाइलम आवेदकले अमेरिकी अदालतमा अपिल गर्न पाउने जनाइएको छ ।

अमेरिकामा सिमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिनहरु एसाइलम दावेदारहरुको सुरुमा युएससीआईएसका अधिकारीहरुले प्रारम्भिक अन्तरवार्ता लिने गर्छन् । क्रेडिबल फियर अन्तरवार्ता भनिने उक्त अन्तरवार्तामा आवेदकले स्वदेश फर्कनमा आफूलाई खतरा रहेको प्रारम्भिक दावीबारे अधिकारीको चित्त बुझाउन सक्नुपर्छ ।

यदि यो अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा मात्र अमेरिकी अदालतमा एसाइलम प्रकृया अगाडि बढाइन्छ । तर उक्त अन्तरवार्ता उत्तिर्ण नगर्ने व्यक्तिलाई शीघ्र प्रकारको देशनिकालाको प्रकृयामा राखिदै आएको छ । तर अपिल कोर्टले भने यसरी अन्तरवार्ता उत्तिर्ण नगरेका आवेदकलाई अपिलका लागि अदालतमा जाने संवैधानिक अधिकार रहेको जनाएको छ ।

अदालतको नयाँ रुलिङले एकातिर एसाइलमको प्रारम्भिक अन्तरवार्ता उत्तिर्ण गर्न नसक्नेहरुका लागि थप बाटाहरु खोल्नेछ । तर अर्कोतर्फ झण्डै ८ लाख मुद्दाको ब्याकलग रहेको इमिग्रेशन अदालतमा मुद्दाको ब्याकलग अझ बढाउने सम्भावना रहेको छ ।

बिहिबारको रुलिंगपछि प्रारम्भिक एसाइलम अस्वीकृत भएका नवौं सर्किट अन्तरगतका आवेदकले तुरुन्तै अपिल गर्न सक्ने जनाइएको छ । अलास्का, एरिजोना, क्यालिफोर्निया, हवाई, आइदाओ, मोन्टाना, नेभाडा, ओरेगन र वासिंटनका एसाइलम दावेदारका लागि यो फैसला खुशीको खबर हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com