मधेसमा नेकपाको पहिलो जनसभा, दुवै अध्यक्षले सम्बोधन गर्ने
प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो ।
रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिनुभयो । उहाले २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको समेत बताउनुभयो ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनको भनाई छ ।
जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिनेछन । पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण अन्यौलमा परेको छ ।