टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा ल्याइदै


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेको डाका र मातृभूमिमा कुनै बिपत्ति वा समस्याका कारण उक्त देशका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा संसदमा ल्याइने भएको छ । डेमोक्र्याट्सहरुले उक्त ड्रिम एक्ट संसदको तल्लो सदन प्रतिनिधिसभामा ल्याउन लागेका हुन् ।

क्यालिफोर्नियाकी डेमोक्रेटिक सांसद लुसिल रोएबल अलार्डले ल्याउन लागेको विधयेकमा पहिलेको संस्करणमा केही संसोधन समेत गरिएको जनाइएको छ । विधयेकमा डाकाले समेटेका र टीपीएस वाहकहरुलाई अमेरिकामा स्थायी संरक्षण प्रदान गर्दै नागरिकताको बाटोमा लैजाने विषय समेटिएको छ ।

स्पीकर न्यान्सी पेलोसीले हाउसमा डेमोक्र्याट्सको बहुमत भएमा ड्रिम एक्ट पुन फ्लोरमा ल्याउने प्रतिबद्धता जनाएकी थिइन् । अहिले अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याट्सहरुको बहुमत रहेको छ । तर सिनेटमा भने रिपब्लिकनको बहुमत भएका कारण हाउसबाट पारित बिलहरु सिनेटबाट पारित हुनमा भने समस्या रहेको छ ।

मार्च १२ मा पेश गरिने विधयेकको नाम ड्रिम एण्ड प्रमिस एक्ट २०१९ रहेको छ । अमेरिकामा झण्डै ९ हजार नेपालीहरु टीपीएसको संरक्षणमा रहेका छन् । जसको अवधि आगामी जुन २४ मा समाप्त हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com