छोराहरु पढाउन आफैंले विदेशी केटीसँग श्रीमानको बिहे गराएँ


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

काभ्रेको धनपुरी लामा र बिष्णु लामा बिच भाग्ने सल्लाह भइसकेको थियो । तर दाइले सोध्दा धनपुरीले हाँसेर टार्नुभएको थियो । तर उहाँले बिष्णुसँग भागेर बिहे गर्ने निधो गरिसक्नु भएको थियो।

धनपुरी भन्दा बिष्णु ५ वर्ष कान्छा हुन् । धनपुरीलाई आफू भन्दा कान्छो केटोसँग विहे गर्ने मन त थिएन । तर मन बसेपछि कसको के लाग्छ र।

अर्कातिर विष्णुले कसम खाएका थिए, ‘तिमी भन्दा कान्छो भएपनि तिमीलाई धोका दिन्न ।’ माया बसेपछि उमेरले छेकेन । वल्लोपल्लो कोठामा बस्ने धनपुरी र बिष्णु लामा भालेको डाकमा कसैले थाहा नपाउने गरी भागे।

बिहेपछि धनपुरीले घर सम्हाल्नुभयो । बिष्णु ट्रेकिङ जाने विदेशीहरुको सहयोगीको काम गर्थे । दुई छोरा सहित चार जनाको परिवारलाई टे«किङबाट कमाएको पैसाले धान्न मुश्किल थियो । विभिन्न देशबाट आएका विदेशीका सहयोगी बनेका बिष्णुलाई नेदरल्याण्डकी एक महिलालले जीवन साथी बन्न प्रस्ताव राखिन्।

बिष्णुले धनपुरीलाई विदेशी महिलाले राखेको प्रस्ताव सुनाए । श्रीमानका कुरा सुनेपछि धनपुरीको मनमा अनेक कुरा खेले । ‘श्रीमान्लाई विदेशी महिलाले लगिन् भने कमाइ राम्रो हुन्थ्यो, छोराहरुको भविष्य राम्रो हुन्थ्यो’ धनपुरीले भन्नुभयो, ‘lsquo;यही सोचेर श्रीमानलाई विदेशी महिलासँग बिहे गर्न अनुमती दिएँ।’

बिष्णु भने ती महिलासँग बिहे गर्ने पक्षमा थिएनन् । ‘बुढोले मानेका थिएनन्, मेरै करले बिहे गरेका हुन्,’ धनपुरीले भन्नुभयो । उहाँले श्रीमानको बिहे विदेशी महिलासँग गराइ दिनुभयो । ११ वर्ष र ९ वर्षका छोरा जन्ती बनेका बिहेमा परिवारको मूलीको भूमिका धनपुरी आफैंले निभाउनु भएको थियो।

‘नेपाली महिलाले त हिजोआज बुढो छोड्न थाले, विदेशी महिला बस्छे जस्तो लागेन बिहे गराइदिएँ,’ धनपुरीले श्रीमानको दोस्रो बिहे आफैले गरिदिनुको कारण बताउनुभयो।

सौताको पीडालाई छोराहरुको भविष्यको सपनाले भरिदिएको थियो । श्रीमानलाई नेदरल्याण्ड पठाउन पाए छोराहरुले राम्रो स्कुल पढ्थे, आफ्नो फरिया फेरिन्थ्यो भन्ने धनपुरीको आशा थियो । विदेशी महिला पनि मिजासिलो थिइन् । नाम थियो ‘फ्लावर’ । मान्छे पनि फूल जस्तै । धनपुरीका छोराहरुलाई साह्रै माया गर्थिन् । उनले छोराहरुलाई विदेश फर्कनु अघि नै

काठमाडौंमा ल्याएर स्कुल भर्ना गरिदिएकी थिइन् । कहिल्यै स्कुलमा पाइला नपरेका बिष्णुले फ्लावरसँग बिहे गर्नकै लागि अंग्रेजी भाषा समेत पढेका थिए।

नेदरल्याण्डबाट फ्लावर र बिष्णु वर्षै पिच्छे दसैं तिहार मनाउन नेपाल आउँथे । दोस्रो बिहे गरेका कारण उनीहरुको परिवारमा मनमुटाव पनि थिएन् । काभ्रेको तिमालमै बस्ने धनपुरी पनि श्रीमानले बिहे गरेको एक वर्षपछि काठमाडौं आउनुभयो । काठमाडौंको कोठामा लाग्ने खर्च र छोरा पढाउने शुल्क सबै नेदरल्याण्डबाट आउँथ्यो । वर्षको एकपटक परिवारका सबै सदस्यको भेट हुन्थ्यो।

फ्लावर र बिष्णु नेदरल्याण्डमा ५ वर्ष सँगै बसे । ५ वर्ष पछि धनपुरीको अड्कल झैं उनले बिष्णुलाई छाडेर नेदरल्याड कै नागरिकसँग बिहे गरिन् । आफूले सोचेजस्तै भएपछि धनपुरी पनि खुसी हुनुभयो।

श्रीमतीले बिहे गर्दिएकी महिलासँग छोडपत्र भएपछि बिष्णुले केही समयपछि फेरि अर्की नेपालीभाषी महिलासित बिहे गरे । बिष्णु र फ्लावरका बालबच्चा थिएनन् । बिष्णुले आफ्नै खुसीले तेस्रो बिहे गरेकीबाट भने दुई छोरी छन् । धनपुरीले ती सौतालाई देख्नु भएको छैन् । फ्लावर झैं बिष्णुकी तेस्री श्रीमती धनपुरी र छोराहरुसँग नजिक पनि छैनन्।

विष्णु नेदरल्याण्ड गएको १३ वर्ष भयो । १३ वर्षमा धनपुरीको जीवनमा धेरै परिवर्तन भएको छ । अहिले उहाँको जेठो छोरा रोजगारीका लागि युएई गएका छन् । बिष्णुले बेलाबेलामा पैसा पठाइरहन्छन् । तर तीन महिनादेखि विष्णु धनपुरीसँग रिसाएका छन् । बोलचाल छैन् । तर खर्चबर्च चाहिँ पठाइरहन्छन्।

उमेरले ५० लागेकी धनपुरीको मुहारको चमक उस्तै छ । नहाँसी बोल्नुहुन्न । सन्तोकी भएर पनि हो कि धनपुरी ५० वर्षकी झै देखिनुहुन्न् । श्रीमानको बिहे गरिदिएकोमा उहाँलाई कुनै पछुतो छैन् । कमाउने विकल्प नहुँदा अर्कोसँग बिहे गरेर पढाएका छोराले राम्रो बाटो समातेनन् भनेर श्रीमान रिसाएका हुन की झैं लाग्छ धनपुरीलाई ।

जतिवटा बिहे गरेपनि बुढो प्रतिको माया विश्वास नटुट्ने उहाँ बताउनुहुन्छ । ‘परदेशमा कसरी एक्लै बसोस त, पाँच वटै ल्याएँ नि मलाई हेला नगरोस त्यति भए पुग्छ,’ धनपुरीले हाँस्दै भन्नुभयो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com