अमेरिकामा १० हजार हाराहारीमा एनआरएनए सदस्यताको टुङ्गो लाग्यो
प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्व्य परिषद् अमेरिकामा यसबर्ष १० हजारको हाराहारीमा सदस्य भएका छन् । अघिल्लो महिनाको फेब्रुअरी १५ सम्म सदस्य बन्ने अन्तिम म्याद तोकिए अनुसार प्राप्त भएका निवेदनहरु माथी छानविन गरी अन्तिम टुङ्गो लगाइएको हो । सुपरभाइजरी कमिटिका सदस्य प्रमोद सिटौलाका अनुसार प्राप्त निवदेनहरु छानविन गरि अन्तिम टुङ्गो लगाइएको हो । भेरिफिकेशन कमिटि र सुपरभाइजरी कमिटिले आज न्यूयोर्कमा पत्रकार सम्मलेनको आयोजना गरी यस्तो जानकारी दिएका हुन ।
एनआरएनए अमेरिकाको सदस्यताका लागि आठ हजार नौ सय २३ जनाको निवेदन प्राप्त भएकोमा आठ हजार आठ सय ६१ जनालाई अन्तिम रुप दिइएको छ । अब एनआरएनए अमेरिकाकामा पाँच सय ९१ जना पुराना आजिवन सदस्य गरी कुल नौ हजार चार सय ५२ जना सदस्य पुगेको सिटौलाले जानकारी दिएका छन् ।
भेरीफिकेशनका लागि फोन र म्यासेज गरिएको भएपनि आवेदकसंग सम्पर्क नभएका कारण ६२ जनालाई अस्विकृत गरिएको भेरिफिकेशन समितिका सदस्य शैलेष श्रेष्ठले खसोखासलाई जानकारी दिए ।
अमेरिकाको २५ वटा राज्यबाट एनआएनएको सदस्य भएका छन् । जसमध्ये न्यूयोर्कबाट सबैभन्दा धेरै २२ सय ३९ जना सदस्य बनेका छन्, भने दोश्रोमा टेक्सासबाट १७ सय ८० जना सदस्य भएका छन् । सदस्यताको टुङ्गो लगाउन रामकुमार सुवेदी संयोजक, बालजोशी र पवन योञ्जन सदस्य रहेको आन्तरिक भेरिफिकेशन कमिटि र त्यसको निरिक्षण गर्नका लागि डा. रुद्र अर्याल संयोजक, शैलेश श्रेष्ठ र प्रमोद सिटौला सदस्य रहेको सुपरभाइजरी कमिटि बनाइएको थियो ।
अघिल्लो बर्ष व्यक्तिको इमेल ठेगाना, मोवाइल नम्वर र घरको ठेगानाका आधारमा सदस्यता दिने प्रावधान थियो भने यस पटक देखी व्यक्तिको परिचय पत्र अर्थात राज्यले जारी गरेको स्टेट आइडी पनि अनिवार्य गरिएको थियो । एनआरएनए अमेरिकाको नयाँ नेतृत्वको लागि आगामी मे महिनाको दोश्रो साता निर्वाचन हुने कार्यतालिका छ । निर्वाचनका लागि विश्व बरालको संयोजकत्वमा एक समिति बनाइएको छ ।