स्वास्थ्य क्षेत्र राजनीतिक कारणले बर्बाद भयो : मन्त्री यादव


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताउनुभयो । देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको भन्दै उहाँले भन्नुभयो, “अस्पताल बर्बाद गर्नेहो भने राजनीति गरौँ ।”

सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी अस्पतालबाट अहिले पनि ९० प्रतिशत नेपालीले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको बताउनुभयो ।

सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले पूरै नेपालमा गुणस्तरसहितको स्वास्थ्य क्षेत्रको पहुँच पु¥याइने जानकारी गराउनुभयो । चितवनको भरतपुरलाई देशकै सबैभन्दा ठूलो मेडिकल हवको रुपमा विकास गर्ने भन्दै उहाँले त्यसका लागि यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बीचमा मित्रता आवश्यक रहेको औँल्याउनुभयो ।

सो अवसरमा अस्पतालका अध्यक्ष खेम भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । सरकारी १५० श्यया अनुमति पाएको भरतपुर अस्पतालमा हाल ४५० श्यया विकास समितिले सञ्चालन गर्दै आएको छ । हालै मात्र ५०० श्ययासहितको केन्द्रीय अस्पताल स्वीकृत पाएको भए पनि बजेट र जनशक्ति प्राप्त भइसकेको छैन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सङ्घीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भुजेलले भरतपुर अस्पतालको विकासमा साथ र सहयोग रहने बताउनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com