म रविन्द्रको क्षेत्रबाट उम्मेदवार बन्दिन : वामदेव गौतम
प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

नेकपाका वरिष्ठ नेता वामदेव गौतमले रविन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । शुक्रबार रविन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा पुगेका गौतमले रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप लगाइ आफू विरुद्ध कुप्रचार गरिएको बताए ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर गौतमले भने ‘पार्टीले निर्णय गरेपनि म रविन्द्र अधिकारीको क्षेत्रबाट उम्मेदवार बन्दिन ।’ ‘नेपाली राजनीतिक आकाशमा उज्जवल भविष्य सहित उदाएका प्रीय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइेको छ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कु-प्रचार मात्र हो ।’ उनले जारी गरेकाे प्रेस विज्ञप्ति उल्लेख गरिएकाे छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दीन र जीवनभर दिने पनि छैन।
मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रविन्द्रको दुखद् निधनवाट खालि भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न रविन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु।’