अस्ट्रेलियाली दूतावासको विज्ञप्ति : नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैन


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौं स्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ । संस्था बन्द गर्नु अघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा उनीहरूको पैसा फिर्ता गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यही संस्थामा पढाइलाई निरन्तरता दिए मात्रै विद्यार्थीको भिसाको कानुनी आधार सुनिश्चित हुने पनि दूतावासले स्पष्ट पारेको छ । ‘एआइबिटी बन्द हुनुअघि उसले विद्यार्थीलाई वैकल्पिक पाठ्यक्रम अध्ययनको सुनिश्चितता गर्नुपर्नेछ, अथवा खर्च हुन बाँकी ट्युसन शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्नेछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

नर्सिङ तथा मिडवाइफ्रीमा डिप्लोमा सञ्चालन गर्न एआइबिटीले अनुमति नलिएको विषयमा अध्ययन थालिएको पनि दूतावासले जनाएको छ । अस्ट्रेलियाको गृह मामिला विभागले भिसा रद्द गर्नुअघि कम्तीमा २८ दिनदेखि ३ महिनासम्म समय उपलब्ध गराउने र विद्यार्थीको केसका आधारमा यो समयावधि बढाउन सक्ने बताउँदै दूतावासले  नआतिन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ ।

अस्ट्रेलियामा विद्यार्थी पठाउने शैक्षिक एजेन्टहरूलाई विद्यार्थी अध्ययन गर्ने संस्था र खर्चबारे विनाशुल्क र तथ्यपूर्ण जानकारी दिन पनि दूतावासले आग्रह गरेको छ । विद्यार्थीलाई पनि भरपर्दो शैक्षिक संस्था, बसोबास लगायतका विषयमा सुरुमै स्पष्ट भएर जान उसको अनुरोध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com