घुम्नै पर्ने नेपालका उत्कृष्ट १० गन्तव्यहरू


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूची भित्र पर्ने गर्दछ । प्राकृतिक विपत्ति र अन्य कारणले ओरालो लागेका बेलामा विश्वका चर्चित गन्तव्यमा नेपाल परिरहनुले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने निश्चित छ ।

हो, घुम्नका लागि उपयुक्त मौसम छनोट गर्नुहोस् । न जाडो, न त गर्मीे यस्तो मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । नेपालका सुन्दर र रमणीय पर्यटकीय गन्तव्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौं, ता कि बिदाको समय घुमेर सदुपयोग गर्नुहोस् ।

नेपालका उत्कृष्ट १० गन्तव्यहरूः
सगरमाथा
नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थानमध्ये एक हो, सगरमाथा राष्ट्रिय निकुञ्ज यात्रा अर्थात् सगरमाथा पदयात्रा । यो पदयात्रामा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गर्छन् । कोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउँछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कने गर्छन् ।

यो क्षेत्रमा नेपालीभन्दा विदेशी पर्यटकहरु बढी जाने गर्छन् । तर, पछिल्लो समय नेपाली पर्यटकहरु समेत उल्लेखनीय रुपमा आउने गरेका छन् ।

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि विशेष गरी सगरमाथालाई आँखै अगाडिबाट हेर्ने हो भने सबैभन्दा उपयुक्त स्थल हो कालापत्थर । जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा छ । यो नै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्ने उपयुक्त ठाउा हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । तर, कुन हिमाल हो भनेर कुनै पनि जानकारी नहुँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।

रारा
मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त छ ।

खप्तड
खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ ।

खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् ।

अन्नपूर्ण पदमार्ग
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।

लमजुङको बेंसीसहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ । बेंसीसहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुादै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।

लाङटाङ
रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो ।

काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ ।

जोमसोम–मुक्तिनाथ
हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ ।

पुनहिल
नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिन्छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ ।

सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । विशेषतः यस पर्यटकीय क्षेत्र बाघ अवलोकन गर्नका लागि उपयुक्त मानिन्छ ।

कोशी टप्पु
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।

यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् ।

पाथिभरा
ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा मन्दिर नेपालका साथै भारतका धार्मिक पर्यटकमाझ पनि चर्चित छ । यो मन्दिरमा वर्षेनि लाखौं भक्तजन दर्शन गर्न आउने गर्छन् । पाथिभरा मन्दिर समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उाचाइमा छ । कुम्भकर्ण हिमाल हेर्न पनि पाथिभरा उपयुक्त गन्तव्य हो ।

असोज–कात्तिक महिनामा मौसम सफा हुने भएकाले पनि यतिबेला हिमाल हेर्ने उपयुक्त समय हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com