इलाम बजारबाट तराई जोड्ने द्रूतमार्ग खुल्याे
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

इलाम बजारबाट तराई जोड्ने द्रूतमार्ग खुलेको छ। द्रूतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ। मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ।
इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो। गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत रु १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको रु दुई लाख ५० हजारमा सडक निर्माण गरिएको हो।
चालू आर्थिक वर्ष २०७५/७६ मा इलाम नगरपालिकाको रु १५ लाख र प्रदेश नं १ को रु पाँच लाख गरी रु २० लाख लागतमा मार्ग खुलेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले बताइन्। इलामको गोलाखर्क भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हुँदै माई नगरपालिका, दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडादर कम लाग्ने स्थानीय बासिन्दाको भनाइ छ।
उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत रु एक करोड बजेट विनियोजन गरेकाले सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए। मेची राजमार्गबाट झापा जोड्न करीब तीन घण्टाको सडकयात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब गोलाखर्क भञ्ज्याङबाट बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सकिने छ।