कलाकार धुर्मुस भन्छन – रंगशाला बनाउने घोषणा गरेर हामीले के गल्ती गर्यौं ?
प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

कुनै बेला नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘मेरी बास्सै’ मा धुर्मुसको भूमिका निर्वाह गरेर लाखौं दर्शकको मन जित्न सफल हास्यकलाकार हुन् सीताराम कट्टेल । २०७२ सालमा गएको विध्वंसकारी भूकम्पपछि श्रीमती कुञ्जना घिमिरेसँगै स्वस्फूर्त रूपमा राहत वितरणदेखि बस्ती निर्माणसम्ममा सक्रिय भएको सीताराम र कुञ्जनाको जोडी अहिले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने अभियानमा केन्द्रित भएको छ । हालै रंगशाला निर्माण हुने सम्झौता पत्रमा हस्ताक्षर भएपछि सामाजिक सञ्जालहरूमा उक्त कार्यका सम्बन्धमा टीका–टिप्पणी गर्ने क्रम बढेको छ । रंगशाला निर्माणको प्रारम्भिक चरणमा सामाजिक सञ्जालमा बहस नै चलेपछि साप्ताहिक संवाददाता कृष्ण भट्टराईले धुर्मुसलाई पुरानो बानेश्वरस्थित उनकै कार्यालयमा भेटेर लामो कुराकानी गरेका थिए ।
मलेसियाको कार्यक्रम कस्तो रह्यो ?
मलेसियाको धुर्मुस–सुन्तली साँझ कार्यक्रम हामीले अपेक्षा गरेको भन्दा राम्रो भयो । हल दर्शकले खचाखच भरिएको थियो । सिटी एक्सप्रेसले प्रायोजन गरेको उक्त कार्यक्रम जुन उद्देश्यका लागि गरिएको थियो, हामी त्यसमा सफल भयौं । पहिले उक्त कार्यक्रम विशुद्ध मनोरञ्जनका लागि तय गरिएको थियो, हामीले काठमाडौंमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा भएपछि उक्त कार्यक्रमको रुपरेखा केही परिवर्तन भयो ।
रंगशाला निर्माणका लागि सहयोग जुटाउन पुन: विदेश जाने कार्यक्रम छ कि ?
छ, जापान, अष्ट्ेरलिया, यूरोप, दुबईसहित जहाँ–जहाँ नेपाली हुनुहुन्छ, त्यहाँ त्यहाँबाट कार्यक्रमको प्रस्ताव आइरहेको छ ।
रंगशाला निर्माणको कुरा कहाँसम्म पुगेको छ ?
आफैंमा ऐतिहासिक रहेको उक्त रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि केहीअघि हामीले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरेर सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । त्यससंगै अहिले हाम्रो सम्पूर्ण ध्यान गुरुयोजना (डीपीआर) निर्माणमा छ । डीपीआरका लागि पनि सम्बन्धित विज्ञहरूसँग हामी आफैं बस्नुपर्ने बाध्यता छ । उक्त रंगशाला निर्माणका लागि हामी संयोजक (मध्यस्थकर्ता) को भूमिका मात्रै निर्वाह गरेका हौं । यो एउटा विज्ञ समुहले निर्माण गर्ने हो ।
अब त्यो काम कसरी अघि बढ्छ ?
निर्माणको काम अघि बढि सकेको छ । हामीले उक्त जग्गामा साइट अफिस निर्माण गरेका छौं, अस्थायी कम्पाउन्डिङको काम पनि हुँदैछ । निर्माण सामग्रीहरू राख्ने गोदाम बनाउन थालिसक्यौं । केही दिनमै त्यहाँ पुगेर प्रारम्भिक चरणको काम गर्नुछ ।
ठ्याक्कै कति समयमा रंगशाला तयार होला ?
शिलान्यास भएको मितिले दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ । यद्यपि डीपीआर तयार हुन तथा नक्सा बन्न कम्तिमा ६ महिना लाग्छ कि भन्ने अनुमान छ । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गर्दै निर्माण गर्नुपर्ने भएकाले दक्ष प्राविधिक तथा इन्जिनियरहरूसंग परामर्श गर्दैछौं ।
रंगशाला निर्माणको घोषणापछि कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै सकारात्मक प्रतिक्रियाहरू पाइरहेका छौं, केही टिका–टिप्पणी पनि पाइरहेका छौं । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अहिले हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यकता हो कि होइन भन्ने कुरा महसुस गर्नुपर्छ । क्रिकेट खेलेरै नेपाली खेलाडीहरूले देशलाई चिनाइरहेका छन्, अन्तर्राष्ट्रिय मञ्चमा प्रगति गरिरहेका छन् । यद्यपि, तिनै खेलाडीहरू निर्धक्कसँग अभ्यास गर्न पाइरहेका छन् कि छैनन्, त्यो हेरिनुपर्छ । खेलाडीले खेल खेलेरै बाँच्न सक्ने अवस्था छ कि छैन, त्यसमा ध्यान दिइनुपर्छ । ती कुरामा सकारात्मक जवाफ नभेटेपछि हामीले त्यसकै लागि यो संघर्षमय यात्राको थालनी गरेका हौं । हामीले क्रिकेट रंगशालामात्र होइन, समग्र खेलकुद क्षेत्रकै लागि यो ठूलो कदम चालेका हौं । हामीले हाम्रा लागि सोचेका छैनौं, सिंगो नेपाली खेलाडीहरूको भविष्यलाई सोचेर यो परियोजनालाई अघि बढाउने निर्णय गरेका हौं । हामीलाई नेपाली समाजको साथ र समर्थन भएकैले यति चुनौतीपूर्ण अभियान थालेका हौं । समाजको समर्थन नभएको भए आज हामी रंगशाला निर्माण थालनी गर्ने अवस्थासम्म आइपुग्ने नै थिएनौं । हामी त आफ्नै मनोरञ्जनको क्षेत्रमा रमाइरहेका कलाकार हौं । हाम्रो सामाजिक कार्य नेपाली दाजुभाइ–दिदीबहिनीहरूकै सल्लाह, सुझाव एवं सहयोगबाट सञ्चालन भैरहेको छ । त्यसैले धुर्मुस र सुन्तलीलाई सल्लाह दिने, सुझाव दिने पूर्ण अधिकारी उहाँहरूलाई छ । समाजले नै क्रिकेट रंगशाला बनाउनुपर्छ भनेपछि हामी अघि बढेका हौं ।
रंगशाला निर्माणका लागि चितवन नै रोज्नुपर्ने खास कारण के होला ?
करिब एक वर्षअघि नै हामीलाई धेरै जिल्लाबाट स्थलगत भ्रमणको निम्ता आएको थियो, हामीले कतिपय जिल्लाको भ्रमण समेत गर्यौं । एउटा न एउटा जिल्लामा त रंगशाला निर्माण गर्नु नै थियो । भरतपुर महानगरपालिकाले हामीलाई जग्गा उपलब्ध गराउने भयो । नेपालको सबैभन्दा सेन्टरमा पर्ने भएकाले उक्त स्थलमा रंगशाला निर्माण हुँदा सबैलाई उपयुक्त हुन्छ भन्ने सोचेरै हामीले चितवनमा रंगशाला निर्माण गर्ने निश्चित गरेका हौं । चितवन जिल्ला छनौट गर्नुको पछाडि न त कुनै राजनीतिक पार्टीको दबाब छ, न त सरकारको नै । प्राविधिक हिसाबले पनि उपयुक्त उक्त जग्गा छोटो समयमै उपलब्ध भएपछि हामीले त्यसलाई छनोट गरेका हौं ।
रंगशालामा के–कस्ता पूर्वाधार रहनेछन् ?
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निर्माण हुने क्रिकेट स्टेडियममा क्रिकेट मात्र होइन, फुटबल, भलिबल, कबर्ड हल, स्वीमिङ पुलजस्ता अन्य खेलहरू खेल्न सक्ने पूर्वाधारसमेत तयार पारिनेछ । हामी त्यसलाई नेपाली खेलकुदको हब नै बनाउन चाहन्छौं । हामी त्यसलाई एकेडेमीका रूपमा समेत सञ्चालन गर्ने सोच र परिकल्पना अन्तर्गत नै यो परियोजना निर्माण गर्ने आँट गरिएको हो । ७७ वटै जिल्लाबाट खेलाडी ल्याएर, प्रशिक्षण दिएर स्तरीय खेलाडी जन्माउने हाम्रो लक्ष्य छ ।
अहिले सामाजिक सञ्जालमा यही रंगशाला निर्माणको विरोधमा चर्का स्वरहरू उठिरहेका छन् । तिनलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?
पहिले त सकारात्मक–नकारात्मक टीका–टिप्पणी गर्ने सबैलाई एकमुस्ट रुपमा धन्यवाद भन्न चाहन्छु । उहाँहरूका यस्ता प्रतिक्रियाकै कारण हामीलाई थप ऊर्जा मिलेको छ । उहाँहरूले हामी तथा हाम्रो अभियानप्रति जिज्ञासा राख्नु, प्रश्न उठाउन स्वभाविक हो । किनभने यसमा उहाँहरूकै प्रत्यक्ष सहभागिता रहनेछ । यसबीच नकारात्मक टिप्पणी गर्नेहरूलाई म उल्टै सोध्न चाहन्छु– यति ठूलो परियोजनाको घोषणा गरेर हामीले गल्ति चाहिँ कहाँनेर गरेछौं ? हामीले के गल्ती गरेका छौं भन्ने जिज्ञासा मेरो मनमा पनि पैदा भैरहेको छ । किनभने हामीले उक्त रंगशाला कुनै विदेशी भूमिमा नभइ आफ्नै देशमा निर्माण गरिरहेका छौं । हाम्रै पालामा उक्त रंगशालाको निर्माण कार्य पूरा हुनेछ । नेपाली जनतासँगै सुझाव मागेरै हामीले रंगशाला निर्माणको अभियान थालेका हौं । नेपाली क्रिकेट खेलाडीहरूले सात–आठ महिनाअघि नेपाललाई ऐतिहासिक सफलता दिलाएको बेला सामाजिक सञ्जालहरूमा वाह नेपाल, वाह नेपाली खेलाडी भन्नेहरू नेपाली नै हुनुहुन्थ्यो । त्यो बेला क्रिकेट खेलाडीहरूका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला चाहियो भनेर माग गर्नेहरू पनि नेपाली नै हुनुहुन्थ्यो । हामी त्यो बेला नमुना नेपालको अभियानमा केन्द्रित थियौं । फेसबुकमा मैले नै एउटा स्टाटसमार्फत रंगशाला पहिले कि नमुना नेपाल ? भनेर जिज्ञासा राखेको थिएँ । मेरो जिज्ञासामा करिब ८० प्रतिशतले क्रिकेट रंगशाला पहिले चाहिन्छ भन्नुभएकैले धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी काम थाँती राखेर क्रिकेट रंगशालाको निर्माण दिन–रात एक गर्न थालेका हौं । अहिले आएर उहाँहरू नै यो विषयमा किन विवाद गरिरहनुभएको छ, मैले नबुझेको कुरा यत्ति हो ।
उहाँहरू त रंगशाला बनाउने काम सरकारको हो भन्दै हुनुहुन्छ नि ?
मेरो पनि भनाइ त्यही हो नि । रंगशाला बनाउने काम सरकारकै हो, तर सरकारलाई कुर्दा त्यो रंगशाला कति वर्षमा बन्ला ? हिजो नमुना बस्ती बनाउने काम पनि सरकारकै थियो नि । सरकारले नै एकिकृत नमुना बस्ती बनाइदिएको भए हुन्थ्यो नि । त्यो पनि सरकारकै दायित्वको कुरा थियो, तर सरकारी प्रकृया लामो हुने, झन्झटिलो हुने, धेरै वर्ष लाग्ने भएकैले हामी तातेका थियौं । जनस्तरबाट गर्दा छिटो–छरितो र कम खर्चमै काम सम्पन्न हुने भएकाले हामी जनताकै प्रतिनिधि सक्रिय भएका हौं । सरकारको मुख ताकेर बसेको भए ती नमुना बस्ती बन्थे होला त ? सबैले सकारात्मक रुपमा सहयोग गरेकै कारणले तथा नागरिक स्तरबाट खटिँदा निर्धारित मितिमै सम्पन्न भएका उदाहरणहरू त हामीले नै प्रस्तुत गरिसकेका छौं नि । यद्यपि, हामीलाई सरकारको शतप्रतिशत सहयोग चाहिन्छ । हामी त सरकारलाई सघाउने अभियन्ता मात्र हौं । रंगशाला निर्माणको दायित्व पनि सरकारकै हो, तर समयमै पूरा नहुने भएकाले हामीले अभियन्ताका रूपमा खटिएर सरकारलाई नै सजिलो पारिदिएका हौं । दशरथ रंगाशालाको पुनर्निमाणलाई हेरौं, मूलपानीको क्रिकेट रंगशालालाई हेरौं, कति वर्षदेखि निर्माणाधीन अवस्थामै छन् । यस्तो अवस्थामा हामीले आमनेपाली जनताकै सल्लाह, सुझाव एवं सहयोगमै जनस्तरबाट चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हौं । यो रंगशाला निर्माण पनि सरकारलाई उपस्थित नगराई सम्भव छैन, त्यसैले सरकारको उपस्थितिमा घोषणा गरेका हौं । हामीले त जनस्तरबाट रकम संकलन गरेर जनताकै सहभागितामा रंगशाला निर्माण गर्न पहल गरेका हौं । विश्वमै जनताले बनाएको पहिलो रंगशालाको कीर्तिमान कायम गर्न लागेका हौं ।
यति हुँदाहुँदै पनि विरोधचाहिं किन भैरहेको छ ?
हामी सरकारको विरोध गर्न पाउँदा रमाउँछौं । सरकारले यो गरेन, त्यो गरेन भन्न पाउँदा खुसी हुन्छौं । सरकारको विरोध गर्ने क्रममा रंगशाला निर्माणको पनि विरोध हुन थालेको हुनसक्छ । मैले अघि नै भनें नि, अहिले जुन प्रकारका टीका–टिप्पणी आइरहेका छन्, त्यसले हामीलाई काम गर्ने उर्जा मिलिरहेको छ । मैले त्यसलाई धुर्मुस र सुन्तलीले बाटो नबिराऊन् भनेर दिइएको सल्लाहका रूपमा बुझेको छु । उहाँहरूले हामीलाई सतर्क बनाउन खोज्नुभएको रूपमा बुझेको छु । ती टीका–टिप्पणीले हामीलाई रत्तिभर विचलित बनाएको छैन । हामी निराश पनि भएका छैनौं । यत्रो ठूलो आँट गर्दा केही आलोचना हुनुलाई स्वभाविक रूपमा लिनुपर्छ, तर सबैले स्पष्ट रूपमा के बुझ्नु जरुरी छ भने म धर्तीमा जति समय रहन्छु, मेरा सम्पूर्ण अभियानहरू पारदर्शी रहनेछन्, लुकिछिपी अथवा गोप्य रुपमा हुने छैनन् । अबको बाँकी जिन्दगी राष्ट्रको लागि समर्पित गरेको छु ।
तपाईंहरूलाई कुनै पार्टीबाट परिचालित पनि भन्न थालियो नि ?
म के स्पष्ट पार्न चाहन्छु भने हामी कुनै पनि पार्टीबाट परिचालित छैनौं । हामी कुनै पार्टीको भातृ संगठन पनि होइनौं । हामीले कुनै पनि पार्टीको एजेन्टका रूपमा काम गरेका छैनौं, भविष्यमा गर्ने पनि छैनौं । हामी त नेपाली जनताका प्रतिनिधि मात्र हौं । हामी यही देश र माटोका लागि केही गरौं भनेर खटिएका स्वतन्त्र नेपाली हौं । हिजोसम्म देश बनेन, नेताहरूप्रति विश्वास भएन भन्नेहरू पनि हामी नै हौं । आज नागरिक स्तरबाट विकासको अभियानलाई लिएर अघि बढेको जनताकै छोरालाई रोक्ने प्रयास भैरहेको छ । देशमा एउटा राम्रो रंगशाला बन्दा घाटाचाहिं कसलाई हुने रहेछ, मैले बुझ्न सकेको छैन । मलाई के लाग्छ भने नागरिकका तर्फबाट रंगशाला बन्छ भने सबैले सकारात्मक बनिदिनुपर्छ । हामीले आँट गर्नु नै ठूलो कुरा हो भन्ने कुरा बुझिदिनुपर्छ । चारैतिर निराशा नै निराशा छाएका बेला हामीले आशाको दियो बाल्ने प्रयास गरेका मात्र हौं ।
तपाईंहरूलाई एमाले निकट पनि भनिन्छ नि ?
२०७१ सालमा हामीलाई नेपाल सरकारले सरसफाइ दूत घोषणा गर्दा नेपाली कांग्रेस सरकारमा थियो । भूकम्पपछि हामीले नमुना बस्ती बनाउँदा पनि अहिलेको प्रमुख प्रतिपक्षी नै सरकारमा थियो । मैले भन्न खोजेको कुरा के भने हामी सामाजिक अभियानमा खटिएपछि यो देशमा थुप्रै सरकार परिवर्तन भैसके, तर हामी आफ्नो अभियानमा अविचलित भएर खटिरहेका छौं । राजनीति र सरकारप्रति हाम्रो कुनै आग्रह–पूर्वाग्रह छैन । हामी त जुन दलको भए पनि सरकारलाई सघाउने नि:स्वार्थ अभियानमा खटिएका अभियन्ता हौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अलि बढी क्यारिकेचर गरेका कारण तपाईं उहाँसँगै नजिक भएको बुझिएको हो कि ?
म स्वतन्त्र देशभक्त नेपाली नागरिक हुँ । हाम्रो अभियान स्वतन्त्र नेपाली नागरिकको अभियान हो । क्यारिकेचर गरेकै आधारमा कसैले त्यस्तो भन्छ भने त्यो सरासर झूट हो । कलाकारिता अर्थात् क्यारिकेचर गर्नु मेरो पेसा हो । मैले प्रधानमन्त्री ओलीको मात्र होइन, अरू थुप्रै नेताको क्यारिकेचर गरेको छु ।
रंगशाला निर्माणमा सरकारको सहभागिता त रहन्छ नि ?
सरकारको नियमभन्दा टाढा रहेर कुनै पनि व्यक्तिले कुनै पनि परियोजना सफल बनाउन सक्दैन । हाम्रो मोडालिटी क्लियर छ । धुर्मुस–सुन्तली नाफा नकमाउने परोपकारी संस्था हो । हाम्रो संस्था कुनै कम्पनी होइन, यहाँ सेयर बाँडफाँड हुने कुरा पनि हुँदैन । यद्यपि, सबै सरकारी प्रक्रियालाई पछ्याउने हो भने दुई वर्षभित्रमा रंगशाला निर्माण हुन सक्दैन । सार्वजनिक खरिद ऐनका आफ्नै विधि एवं प्रक्रिया छन् । त्यसअनुसार अघि बढ्ने हो भने तोकिएको समयमा रंगशालाको निर्माण पूरा हुँदैन । यद्यपि, नागरिकको सक्रिय सहभागितामा स्वतन्त्रतापूर्वक काम गरियो भने निर्धारित मितिमै काम सम्पन्न हुन्छ भन्ने कुरा हामीले निर्माण गरेका नमुना बस्तीहरूबाटै प्रमाणित भैसकेको छ ।
रंगशालाको अनुमानित बजेट कति होला ?
अनुमानित ३ अर्ब छ, तर गुरुयोजना तयार नहुन्जेलसम्म ठ्याक्कै भन्न सकिँदैन । यो ३ अर्ब रुपैयाँमा बन्ने परियोजना हुँदै होइन । म यहाँहरूलाई के अवगत गराउन चाहन्छु भने जुन हामीले थ्रीडी र एनिमेटेड भिडियो समेत तयार पारेका छौं, त्यो भिडियोमा प्रस्ट हेरिरहँदा त्यो भिडियोमा जे हो, त्यति बजेटमा बन्ला त भन्ने प्रश्न पनि उठ्न सक्छ । यहाँ त हामी आफैं खट्छौं । त्यसमा हाम्रो श्रमको पैसा जोडिएको छैन । स्वयंसेवकका रूपमा खटिने टिमको खर्च पनि त्यसमा जोडिएको छैन । भोलि नगद मात्र होइन, जिन्सी चिज पनि सहयोगका रूपमा आउँछ । त्यो हिसाबले मूल्यांकन गर्ने हो भने यो दसौं अर्बले पनि नबन्ने परियोजना हो, तर हामी थोरै रकममा राम्रो, सुन्दर र मौलिक स्टेडियम निर्माण गर्न सक्छौं भनेर लागेका हौं नि ।
तपाईंहरूलाई असहयोग गर्ने लहर चल्यो भने के होला ?
त्यस्तो होला जस्तो लाग्दैन । म अहिले पनि के क्लियर छु भने हामीले त बनाउने आँट मात्र गरेका हौं । हामीले तपाईंहरूको सहयोग भए बनाउन सक्छौं भनेका छौं । न हामी धनी बाउका छोराछोरी हौं । न उद्योगपति नै हौं । न हामी स्रोत–साधनले भरिपूर्ण मानिस हौं । न त हामीसँग त्यस्तो ठूलो ब्याकअप नै छ, जुन प्रोजेक्टका लागि पैसा मागेका छौं, त्यो पूरा भएपछि हामीलाई पैसा पुग्यो पनि भनेका छौं । हामीले जहाँ नेपाली जनताको रगत र पसिना परेको छ, हामी उहाँहरूको रकम दुरुपयोग नहोस् भनेर सबैभन्दा सचेत हामी नै हुन्छौं । बहुमतले नै यो रंगशाला बनाउनु हुँदैन, धुर्मुस सुन्तली फाउन्डेसनले यो काम गर्नु हुँदैन भन्ने कुरा आउँछ भने हामीले मात्र किन टाउको दुखाइरहनुपर्यो र ? सबैको चाहना हो, सबैले यो बन्नुपर्छ भनेपछि त हामी अघि बढ्ने हौं नि ।
तपाईंमाथि यिनै परियोजनामार्फत मन्त्री बन्न चाहेको आरोप पनि छ नि ?
मलाई पार्टीको झन्डा बोकेरे हिंड्नुभन्दा देशको झन्डा बोकेर हिंड्नुमै गर्व छ । त्यस्तो कुनै योजना र परिकल्पना गरेर अघि बढेको होइन । म त नेपाली जनताको छोरा हुँ, त्यसैमा आनन्द छ ।
अन्त्यमा, के भन्न चाहनु हुन्छ ?
सबै जना यो अभियानमा जुटि दिनु हुन हार्दिक अनुरोध गर्दछु । सबै जना जुट्यौं भने हामी यो रंगशालालाई निर्धारित मिति भन्दा अघि नै सम्पन्न गर्नेछौं ।