गाउँदेखि शहरसम्म एनजीओको जालो, २६ वर्षमा ४५ हजार एनजीओ, अनुगमन शून्य


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

मुलुकमा गैरसरकारी संस्था ( एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक सेवाभन्दा पनि नाफा कमाउने माध्यम बनाएका छन् ।

एनजीओको विकृति यति धेरै बढेको छ कि कैयांै एनजीओमा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका रूपमा एकै व्यक्ति १५ वर्षदेखि लगातार कार्यरत रहेको समाजकल्याण परिषद् स्रोतले जानकारी दिएको छ ।

कैयाैं एनजीओले नियमित रूपमा लेखा परीक्षणसमेत नगरेको र अपारदर्शी किसिमले खर्च गर्ने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । ‘केही अपवादलाई छोडेर धेरै एनजीओ व्यक्ति विशेषका नाफा कमाउने माध्यम बनेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । उनले मुलुक एनजीओको जालोमा घेरिनु दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे ।

समाजकल्याण परिषद्का अनुसार विगत २६ वर्षको अवधिमा मात्रै मुलुकमा ४५ हजार एनजीओ थपिएका छन् । त्यसरी थपिएका एनजीओले आफ्नो लक्ष्यअनुसार काम गरे नगरेको बारेमा भने सरकारी निकायले कुनै अनुगमन गर्न सकेका छैनन् । एनजीओको अनुगमन शून्य अवस्थामा रहेको परिषद्का पदाधिकारीले नै स्वीकार्ने गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com