अमेरिकामा पक्राउ १२९ भारतीय विद्यार्थी रिहा गर्न माग, हटलाइन सुरु
प्रकाशित मिति : माघ २१, २०७५ सोमबार
भारतले अमेरिकामा पक्राउ परेका १२९ भारतीय विद्यार्थीहरुलाई रिहा गर्न र उनीहरुको इच्छाविपरित देशनिकाला नगर्न अनुरोध गरेको छ । ती विद्यार्थीहरुलाई अमेरिकी सरकारले नै नक्कली विश्वविद्यालय स्थापना गरेर फसाएको भन्दै भारतले रिहाईको माग गरेको हो ।
भारतको विदेशमन्त्रालयका तर्फबाट अमेरिकामा पक्राउ परेका भारतीय विद्यार्थीहरुलाई रिहा गर्न आग्रह गरिएको हो । न्यु दिल्लीमा रहेको अमेरिकी दूतावासमा भारतका तर्फबाट औपचारिक रुपमा कुटनीतिक अनुरोध गरिएको छ ।
यसैबीच अमेरिकामा रहेको भारतीय दुतावासले पक्राउ परेका विद्यार्थीहरुलाई सघाउन चौबीस घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
केही दिन अगाडि अमेरिकामा सरकारले स्थापना गरेको नक्कली विश्वविद्यालयमा भर्ना भएका कारण १३० जना विद्यार्थीहरु पक्राउ परेका थिए । सरकारले अमेरिकामा विद्यार्थी भिसामा आएर भिसा जोगाउनमात्र विश्वविद्यालय भर्ना हुनेहरुलाई निशानामा राखेर नक्कली विश्वविद्यालय नै खोलेको थियो ।
शुल्क तिरेर पढ्न जानु नपर्ने तर भिसा अद्यावधिक हुने सुविधा सहित अमेरिकी सरकारले अध्यागमन अपरेशनका दौरान नक्कली विश्वविद्यालय स्थापना गरेको थियो । मिसिगनमा फार्मिंटन युनिभर्सिटीका नाममा खोलिएको उक्त नक्कली विश्वविद्यालय बन्द गरिसकिएको छ ।






