अमेरिकामा शरण खोज्नेलाई मेक्सिको पठाउने नीतिको प्रयोग विस्तार गरिदै, १२ जना पठाइयो


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

अमेरिकाको पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने कागजपत्रविहिनहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउने परिक्षणकालिन नीतिको प्रयोग विस्तार गरिने भएको छ । अमेरिकाले हाल क्यालिफोर्नियाको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा एसाइलम दावी गर्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ ।

होमल्याण्ड सेक्युरिटीका अधिकारीका अनुशार अमेरिकाका अन्य पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम गर्नेहरुलाई पनि अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउने तयारी भइरहेको छ । यसैसाता अमेरिकी सरकारले यो नीति लागु गरेयता १२ जना आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाइएको छ ।

अहिलेसम्म मेक्सिको फिर्ता पठाइएकाहरु एकल जवानहरुमात्र रहेकोमा अव यो नीति बालबालिका र परिवारको हकमा समेत विस्तार गरिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले जनाएका छन् ।

सान यिसिद्रोपछि एल पासोलाई दोश्रो पोर्ट अफ इन्ट्रीका रुपमा प्रयोग गर्न खोजिएको छ । तर कहिलेदेखि विस्तार सुरु गरिन्छ भन्नेबारे स्पष्ट छैन । मेक्सिकोले भने सान यिसिद्रोबाहेक अरु पोर्ट अफ इन्ट्रीबाट आप्रवासी स्वीकार नगर्ने र १८ बर्षभन्दा कम उमेरकालाई स्वीकार नगर्ने चेतावनी दिएको छ ।

माइग्रेशन प्रोटेक्सन प्रोटोकल अन्तरगत बाबुआमा वा अभिभावकविना पोर्ट अफ इन्ट्रीमा आउने केटाकेटीहरुलाई मेक्सिको फिर्ता नपठाइने उल्लेख छ । त्यस्तै मेक्सिकोमा कुर्दा आफूलाई हानी हुने विषयमा एसाइलम अफिसरलाई सहमत गराउने सक्ने आवेदकलाई पनि फिर्ता पठाइने छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com