टीपीएस आवेदन दिने नेपाली १२ हजार ९ सय १६, सरकारी अनुमानभन्दा ५० प्रतिशत कम


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

 

 किशोर पन्थी

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने म्याद डिसेम्बर २१ मा सकिएपनि डिसेम्बर २१ को पोष्टमार्कसहित युएससीआईएसमा टीपीएको आवेदन प्राप्त हुने क्रम त्यसपछि पनि चल्यो । न्युइयर र क्रिसमसको लामो विदापछि फर्किएपछि युएससीआइएएसले जनवरीको पहिलो साताबाट टीपीएसका सम्पूर्ण आवेदनमाथि प्रकृया सुरु गरेको छ ।

युएससीआईएसमा प्राप्त हुनुपर्ने सबै टीपीएस आवेदनहरु प्राप्त भइसकेको र डिसेम्बर २१ भन्दा पछिको पोष्टमार्कसहित प्राप्त हुने आवेदन स्वीकार नगरिने युएससीआईएसले जनाएको छ । त्यसैगरी प्रारम्भिक आवेदनका लागि म्याद पनि नथपिने युएससीआईएसले स्पष्ट पारेको छ । टीपीएसका लागि आवेदन दिने अन्तिम म्याद डिसेम्बर २१ सम्म रहेकाले त्यसपछिका पोष्टमार्कसहित आएका आवेदनहरु युएससीआईएसले सिधै अस्वीकार गर्ने युएससीआईएसका प्रवक्ता क्याथरिन टिकचेकले जानकारी दिएकी छिन् ।

खसोखाससँग कुराकानी गर्दै प्रवक्ता टिकचेकले भनिन् –‘ मलाई लाग्छ, डिसेम्बर २१ पछि टीपीएसका लागि आवेदन दिन चाहने नेपालीहरु धेरै थिएनन् । टीपीएसको प्रारम्भिक आवेदन अवधि लम्बाइएको खण्डमा मात्र डिसेम्बर २१ पछि आवेदन दिन सकिन्थ्यो । प्रारम्भिक आवेदन अवधि असाध्यै कम देशका हकमा मात्र लम्बाइएको छ । र नेपालका हकमा प्रारम्भिक आवेदन अवधि नलम्बाइएकाले डिसेम्बर २१ पछि पठाइएका आवेदनहरु स्वत अस्वीकृत हुन्छन् ।

कतिले दिए आवेदन ?

डिसेम्बर २१ सम्म टीपीएसका लागि आवेदन पठाउने नेपालीहरुको संख्या १२ हजार ९ सय १६ मात्र रहेको युएससीआईएसले खसोखासलाई जानकारी दिएको छ । प्रवक्ता टिकचेकले सबैभन्दा पछिल्लो तथ्यांक उपलब्ध गराउँदै यसपछि आवेदकको संख्या नथपिने जानकारी दिएकी छिन् । सरकारले अनुमान गरेभन्दा निकै कममात्र नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका छन् ।

डिसेम्बर ६ सम्मको टीपीएसका लागि आवेदन दिनेहरुको संख्या १० हजार १ सय ५० मात्र रहेकोमा त्यसपछिका अन्तिम दुईसातामा टीपीएसका लागि आवेदन दिने नेपालीहरुको चाप केही बढेको थियो । त्यसपछिका दुईसातामा २७ सय भन्दा धेरै नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । अझ डिसेम्बर २० र २१ को पोष्टमार्कसहित टीपीएसका लागि आवेदन पठाउने नेपालीहरुको संख्या निकै ठूलो रहेको थियो ।

आवेदन दिनेहरु सरकारी अनुमान भन्दा कम

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले गत जुन २४ मा नेपाललाई १८ महिनाका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) को दर्जा प्रदान गर्दा निकालिएको सरकारी सुचनामा अमेरिकामा रहेका २५ हजारसम्म नेपालीहरु टीपीएसबाट लाभान्वायीत हुने सरकारी अनुमान रहेको थियो । तर टीपीएसका लागि आवेदन दिने नेपालीहरु अमेरिकी सरकारको अनुमान विपरित ५० प्रतिशत भन्दा पनि कम भएपछि प्रारम्भिक दर्ताको अवधि थप्नमा अमेरिकी सरकार अनिच्छुक देखिएको हो । टीपीएसका लागि आवेदन दिने नेपाली असाध्यै कम भएकाले सन् २०१६ को डिसेम्बर २४ पछि पनि टीपीएसको अवधि थपिनेमा आशंका बढेको छ ।

गत अप्रिल २५ मा नेपालमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण सृजित अवस्थाका कारण नेपाललाई टीपीएसका लागि सुचिकृत गरिएको अमेरिकी सरकारको सुचनामा भनिएको थियो – “२५ हजारसम्म नेपाली र अन्तिम समय नेपालमा बसेकाहरु टीपीएसका लागि योग्य हुने अनमान गरिएको छ । यो अनुमान अमेरिकामा गैरआप्रवासी स्टाटसमा बसेमा वा कानुनी आप्रवासी स्टाटसमा नरहेका नेपालीहरुको संख्यामा आधारित रहेको छ ।”
कतिले पाए टीपीएस ?

अहिलेसम्म १२ हजार ९ सय १६ जनाले टीपीएसका लागि आवेदन दिएपनि झण्डै २५ प्रतिशत नेपालीका आवेदनहरुमात्र स्वीकृत भइसकेका युएससीआईएसले जानकारी दिएको छ । जनवरीको दोश्रोसातासम्म ३ हजार ३ सय २४ जना नेपालीहरुका टीपीएस आवेदन स्वीकृत भइसकेको क्याथरिन टिकचेकले बताइन् ।

टीपीएसका आवेदन अस्वीकृत हुनेहरुको संख्या भने असाध्यै न्यून रहेको छ । अहिलेसम्म २१ जनाका टीपीएस आवेदनहरु अस्वीकृत भएको युएससीआईएसले जनाएको छ । प्रवक्ता टिकचेकले भनिन् –‘ ३ हजार ३ सय २४ आवेदन स्वीकृत भइसकेका छन् भने बाँकी आवेदनहरुलाई युएससीआईएसले प्रकृयामा लगिरहेको छ । ति आवेदनबारेको फैसला छिट्टै हुनेछ ।’ आवेदन दिएकाहरुलाई धैर्यतापूर्वक आफ्नो आवेदनमाथिको फैसला कुर्न युएससीआईएसले सुझाव दिएको छ ।

टीपीएसका सात महिना

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले गत जुन २४ मा नेपाललाई १८ महिनाका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) को दर्जा प्रदान गरेका थिए । त्यसयताको झण्डै ७ महिनाको अवधिमा अमेरिकामा रहेका कैयन नेपालीहरुले टीपीएस प्राप्त गरेर वर्क परमिट समेत पाइसकेका छन् । कागजपत्रविहिन नेपालीहरुले समेत टीपीएस प्राप्त गरेपछि बैध रुपमा अमेरिकामा काम थालिसकेका छन् ।

कतिपय नेपालीहरु टीपीएसमार्फत एड्भान्स परोल (अमेरिकाबाहिर गएर पुन आउन पाउने अनुमति) प्राप्त गरेर अमेरिका बाहिर वा नेपाल पुगेर समेत आइसकेका छन् । तर कतिपय नेपालीहरुलाई भने टीपीएसबारे बुझ्न नै ६ महिना भन्दा धेरै लागेकाले बुझ्दा बुझ्दै आवेदन दिने म्याद गुजारेर टीपीएसको फाइदाबाट वञ्चित हुन पुगेका छन् ।

टीपीएस पाएकाले अब के गर्ने ?

सन् २०१५ को जुन २४ देखि लागु हुने गरी सन् २०१६ को डिसेम्बर २६ सम्मका लागि अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जामा राखेकाले टीपीएस प्राप्त व्यक्तिले त्यो अवधिसम्मका अमेरिकामा कुनै डिपोर्टेशनको डरबिना मज्जाले काम गर्न पाउँछ । आवेदन स्वीकृत भएको व्यक्तिले अमेरिकामा काम गर्नका लागि वर्क परमिट मात्र पाउने होइन, अमेरिकाबाहिर यात्रा गरेर फर्कन पाउनेसम्मको सुविधा पाउनसक्छ । तर यदि कुनै व्यक्तिको टीपीएस स्वीकृत भएको छ र उसले अमेरिकाबाहिर यात्रा गर्न चाहन्छ भने त्यो व्यक्तिले यात्रा स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ । यात्राका लागि गरिएको अनुरोध स्वीकृत भएमा उसलाई एड्भान्स पेरोलका कागजात प्रदान गरिने युएससीआईएसले जनाएको छ । यसरी प्रदान गरिने एड्भान्स पेरोलले व्यक्तिलाई अमेरिका छाडेर बाहिर जान र तोकिएको समयमा फर्कन अनुमति प्रदान गर्दछ । तर कोही व्यक्ति त्यस्तो आवेदन स्वीकृत नभई अमेरिका बाहिर गएमा उसको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस गुम्नसक्ने र अमेरिकामा प्रवेशका लागि अनुमति नपाउने समेत हुनसक्छ । यदि कुनै व्यक्ति अमेरिकामा गैरकानुनी हिसाबले बसेको छ भने त्यस्ता व्यक्तिले यात्राका लागि अनुमतिपत्रको आवेदन दिनु अगाडि कानुनी सल्लाह दिनका लागि मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट कानुनी सल्लाह लिनुपर्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका नेपालीहरुले पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गर्दै नेपालमा रहेको आफ्नो परिवारलाई परेको आर्थिक समस्याबाट मुक्ति दिलाउन पाउने भएका छन् । विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गर्न थालिसकेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्टअफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गर्न थालिसकेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्छ । टीपीएस स्वीकृत भएमा त्यस्तो व्यक्तिका लागि अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ । कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।

टीपीएस प्राप्त व्यक्तिले अमेरिकी नागरिका पाउने उपाय

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले प्रदान गर्ने टेम्पारेरी प्रोटेक्टेडले अमेरिकाको स्थायी बासिन्दा बन्ने मार्ग नखोल्ने बताइएको छ । तर अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही महिनामा नै सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ । हालका लागि यो कार्यक्रम सन् २०१६ को सेप्टेम्बरसम्मका लागि रहेको छ ।

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले ग्रिनकार्ड विना नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमपछि सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

प्रथमपटक प्रकाशित मिति  : १५ जनवरी २०१६

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com