अमेरिकी सिमानामा आएर एसाइलम गर्ने नेपालीलाई मेक्सिकोले फिर्ता नलिने


प्रकाशित मिति : १६ माघ २०७५, बुधबार

अमेरिकी सरकारले पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने कागजपत्रविहिनहरुलाई अदालती सुनुवाई सम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयन सुरु गरेपनि मेक्सिकोले नेपालीलाई भने फिर्ता नलिने भएको छ । सिमाक्षेत्रबाट कागजपत्रविहिन नेपालीहरु ठूलो संख्यामा अमेरिकामा प्रवेश गरेर एसाइलम दावी गर्दै आएपनि तत्कालका लागि मेक्सिकोले उनीहरुलाई फिर्ता नलिने भएको छ ।

एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका नागरिकलाई भने मेक्सिकोले अदालती सुनुवाई सम्मका लागि फिर्ता लिएर मानवीय आधारमा भिसा उपलब्ध गराउने भएको छ । उनीहरुले अदालती सुनुवाई सम्म मेक्सिकोमा नै बसेर काम गर्ने अनुमति समेत प्राप्त गर्नेछन् ।

मेक्सिकोले १८ बर्षभन्दा कम उमेरका केटाकेटीहरुलाई पनि फिर्ता नलिने जनाएको छ । त्यस्तै राष्ट्रिय सुरक्षामा खतरा रहेका र स्वास्थ्य समस्या भएकाहरुलाई पनि मेक्सिकोले फिर्ता नलिने जनाएको छ ।

अमेरिकामा अदालती सुनुवाईको मिति प्राप्त गरेकाहरुलाई मात्र मेक्सिकोले फिर्ता लैजाने जनाइएको छ । तर अदालती सुनुवाईको दिनमा भने अमेरिकी अध्यागमनले अदालतसम्म पुग्ने यातायातको व्यवस्था गर्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com