चारवटा गाउँका बालबालिका विद्यालयनै जान पाएका छैनन !


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

जाजरकोट, बारेकोट गाउँपालिका–८ स्थित चारवटा गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालयभन्दा गाउँ धेरै टाढा भएपछि यहाँका बालबालिका विद्यालय जान नपाएका हुन् ।

जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिका–८ का रिम्दारा, खालकाखुट्टे, डाँडाखानी, र माथिल्लो लैखम गाउँका सयौँ बालबालिका विद्यालय जानबाट वञ्चित भएको स्थानीयवासी रणबहादुर खत्रीले जानकारी दिनुभयो ।

चार गाउँका बालबालिका हाल विद्यालय रहेको साँघुतरामा जानका लागि तीन घण्टा बढी लाग्ने भएकाले जान नसकेको बताउँदै खत्रीले भन्नुभयो, “म आफैँ पनि ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेको थिएँ ।” एक वर्षको उमेरमा विद्यालयमा कक्षा १ मा पढ्दा निकै अप्ठ्यारो महसुस भएको अनुभव सुनाउँदै खत्रीले थप्नुभयो, “मेरो उमेरका अधिकांश साथीभाइ, दिदीबहिनीले विद्यालयको मुख नै देख्न नपाई अहिले निरक्षर छन् ” ।

पछिल्लो समयमा गाउँगाउँमा विद्यालय खोल्ने होडबाजी नै चलेपनि यहाँको चार गाउँलाई सम्बोधन हुने गरी विद्यालय सञ्चालन नहुँदा सयौं बालबालिका विद्यालयसम्म पुग्न पाएका छैनन् । आधारभूत विद्यालय पढ्ने उमेरमा कक्षा १ मा भर्ना हुँदा यहाँका सयौँ बालबालिका बीचमै पढाइ छोड्ने गरेको अर्का स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

खत्री भन्नुहुन्छ, “अन्य बालबालिका सानै उमेरमा आधारभूत तहमा पढ्छन्, हाम्रा छोराछोरी सोही उमेरमा कक्षा १ मा पढ्न जाँदा लाजले विद्यालय नै जान नमान्ने गरेका छन्, घर नजिक विद्यालय भएको भए सानै उमेरमा विद्यालय गएर सबै विद्यार्थीसँग समान उमेर हुने थियो” ।

 

दलित समुदायबाहेक अन्य समुदाय बसोवास गर्ने यी चार गाउँमा यहाँका स्थानीयवासी बसोवास गरेदेखि हालसम्म विद्यालय स्थापना हुन सकेको छैन । हाल भगवती आधारभूत विद्यालय रहेको साँघुतरामा पुग्न चार गाउँका बालबालिकालाई फलामको चिउरा चपाउनु सरह भएको अभिभावकहरु बताउँछन् ।

लैखम गाउँमा विद्यालय स्थापना भएमा यहाँका चार गाउँका बालबालिका विद्यालयको पहुँचबाट टाढा हुनु नपर्ने अर्का स्थानीयवासी जयबहादुर खत्रीले बताउनुभयो ।

नलगाड नगरपालिका–५ सिर्केस्थित जुनिबाल संरक्षण मावि साँघुतराबाट १५ मिनेटको दुरीमा रहेको छ । यता भने चार गाउँका बालबालिका विद्यालय आउन तीन घण्टा लाग्ने गरेका कारण विद्यालयको मुख देख्न नपाउने समस्या भएको खत्रीको भनाइ छ । शिक्षा मात्र होइन, यहाँका स्थानीयवासी सञ्चार, विद्युत्, स्वास्थ्य सेवाबाट समेत वञ्चित रहेका छन् ।

चारबाट गाउँका स्थानीयवासीले तत्कालीन जिल्ला शिक्षा कार्यालय र हालको गाउँपालिकामा पटक÷पटक विद्यालय स्थापना गर्न माग गरेपनि त्यसको सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । चार गाउँका स्थानीयवासीलाई स्वास्थ्य सुविधा लिनका लागि सेपुखोलास्थित स्वास्थ्य संस्था आउन झण्डै चार घण्टा समय बिताउनुुपर्ने बाध्यता रहेको छ ।

चार गाउँका बालबालिकाको पढ्नका लागि घर नै छोड्नुपर्ने बाध्यता कायम रहेसम्म उनीहरु शिक्षाको आधारभूत अधिकारबाट बञ्चित रहनु पर्ने हुन्छ । सरकारले यसअघि नै जाजरकोटलाई साक्षर जिल्लाको रुपमा घोषणा गरिसकेको छ ।
रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com