करेन्टपीडित कृष्ण ओलीलाई थपियो अझै १५ लाख सहयोग


प्रकाशित मिति : १३ माघ २०७५, आइतबार

करेन्ट लागेर दुवै हात र बायाँ खुट्टा गुमाएका रुकुम सानोभेरी गाउँपालिकाका कृष्ण ओलीलाई १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। दक्षिण कोरियामा रहेका नेपालीको सक्रियतामा जम्मा भएको १३ लाख ४६ हजार २ सय ८९ र अन्नपूर्ण मिडिया नेटवर्कको तर्फबाट थप गरी १५ लाख रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको हो।

स्थानीय हाइड्रोपावरमा ओभरसियरका रूपमा कार्यरत ओलीलाई हाइटेन्सन लाइन जडान गर्ने क्रममा करेन्ट लागेपछि दुवै हात र बायाँ खुट्टा गुमाउनुपरेको छ। श्रीमती रुपा ओलीले बलियो गरी साथ पाएका ओलीको पीडाबारे सामाजिक सञ्जालमा
चर्चा भयो।

दक्षिण कोरियामा रहेका नेपालीले सहयोग अभियानबाट संकलित रकम हस्तान्तरणका लागि शुक्रबार अभियन्तासहित एपीवान कार्यकक्षमा उपस्थित हुँदा कृष्ण ओली निकै आभारी देखिन्थे। अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सच्चन थापा तथा एपीवानका प्रमुख सम्पादक टीकाराम यात्रीले ओली परिवारलाई रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणपछि सम्पादक यात्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत टेलिभिजनले मानवीय संवेदना र पीडाका विषयलाई प्राथमिकता दिने गरेको बताउँदै एपीवानमार्फत जोडिन आएकोमा धन्यवाद दिए।

आमा दाजु श्रीमती तथा शुभचिन्तकसहित उपस्थित भएका ओलीले सहयोग उपलब्ध गराउने सबैप्रति आभार व्यक्त गर्दै नेपालमा विद्युत् प्रसारणमा भइरहेको लापरवाहीले धेरैको अकालमा ज्यान गएको बताए। उनले शारीरिक रूपमा अपांग भए पनि विद्युत्प्रसारणमा विद्यमान बेथितिप्रति केही गर्ने अठोट पनि व्यक्त गरे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com