जागिरको प्रलोभनमा भारत पुर्‍याए, होस खुल्दा मिर्गाैला गायब


प्रकाशित मिति : पुस १५, २०७३ शुक्रबार

रोजगारी प्रलोभनमा गत साउनमा भारत पुगेका चितवनका दीपक नेपाली एक्कासि बेहोस भए । ब्युँझदा उनी अस्पतालको शय्यामा थिए । उनको काखीमा अप्रेसन गरिएको थियो । ‘तिमीलाई त गुन्डाहरूले छुरा हाने नि,’ रोजगारीको प्रलोभनमा दिल्लीमा पुर्‍याएका साथी विकास तिमिल्सिनाले नेपालीलाई भने, ‘हामीले यहाँ ल्याएर उपचार गर्दै आएका छौँ ।’ रोजगारीका लागि ल्याएका साथीले नै त्यसरी उपचार गरी ज्यान बचाइदिएकोमा उनी खुसी भए । उपचारपछि उनी घर फर्किए ।

तर, नेपाली २७ मंसिरमा चितवनको गीतानगरस्थित घरमा बेहोस भएर ढले । परिवारले उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्‍याए । चेकजाँचपछि चिकित्सकले भने, ‘तपाईंको त एउटा मिर्गाैला नै छैन ।’ उनी छाँगाबाट खसेजस्तै भए । गुन्डाले छुरी हानेको भनेर उपचार गरिदिने साथीले नै योजनाबद्ध रूपमा बेहोस बनाएर मिर्गाैला चोरी गरेको उनले थाहा पाए । रोजगारीको प्रलोभनमा भारतमा पुर्‍याएर तिमिल्सिनाले उनको मिर्गाैला बिक्री गरेका थिए । तिमिल्सिना मिर्गाैला तस्करीका नाइके रहेको प्रहरीले जनाएको छ ।

नेपालीले प्रहरीमा उजुरी दिएपछि तिमिल्सिनासहित तीनजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काभ्रे महादेवस्थानका तिमिल्सिनासहित दोलखाका प्रकाश बस्नेत र कास्की दाङसिंका भीमप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले रोजगारीमा लगाउने भन्दै निम्न आय भएका व्यक्तिलाई भारत पुर्‍याएर बेहोस बनाई मिर्गाैला निकाल्दै आएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

काठमाडौंमै गिरोह सक्रिय
मिर्गाैला तस्करीमा संलग्न गिरोह काठमाडौंमा सक्रिय रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दोलखाका प्रकाश बस्नेत ग्राहक खोज्ने व्यक्ति हुन् । भारतमै मिर्गौला बिक्री गर्ने र उतै प्रत्यारोपण हुने गरेको छ । काठमाडौंका अस्पतालहरूमा सम्पर्क राखी बस्नेतले ग्राहकहरू खोज्दै आएका थिए । मिर्गाैला बेच्ने र किन्ने दुवै व्यक्तिबीच डिल गरेर भारतमा लगेर कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षौंदेखि चल्दै आएको धन्दा
गरिब नेपालीलाई भारतमा पुर्‍याएर मिर्गाैला बिक्री गराउने धन्दा वर्षौँदेखि चल्दै आएको छ । यसअघि काभ्रेको होक्सेका एक सयभन्दा धेरै सर्वसाधारणलाई त्यसरी भारतमा पुर्‍याएर मिर्गाैला बिक्री गरिएको थियो । शरीरमा दुईवटा मिर्गाैला भएकाले एउटा बिक्री गर्दा केही नहुने भन्दै आर्थिक प्रभावमा पारेर मिर्गाैला तस्करी हुँदै आएको छ । यसमा नेपालका कतिपय चिकित्सकसमेत संलग्न रहेको प्रहरी दाबी छ ।

मिर्गाैला तस्करीका नाइके भारतीय चिकित्सक डा. अमित कुमारलाई प्रहरीले आठ वर्षअघि चितवनमा पक्राउ गरेको थियो । रेडकर्नर नोटिसमा रहेका उनलाई प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो । त्यसयता मिर्गाैला तस्करीमा संलग्न विभिन्न गिरोहहरू पक्राउ परिसकेका छन् । मिर्गौला तस्करी गर्ने समूह पछिल्लो समय चितवन, कास्की र कैलालीमा सक्रिय रहेको अपराध महाशाखाले जनाएको छ ।

आफ्नै मिर्गाैला बिक्रीपछि तस्करीमा
पक्राउ परेका कास्की दाङसिंका भीमप्रसाद न्यौपानेले तीन वर्षअघि आफ्नै मिर्गाैला बिक्री गरेका थिए । त्यसपछि उनले पैसा कमाउन अन्य व्यक्तिलाई समेत मिर्गाैला बेच्न प्रोत्साहित गरेर कमिसन खाँदै आएको प्रहरीले जनाएको छ । उनलाई महाशाखाले पोखराबाट पक्राउ गरेको थियो ।

गौशालादेखि फरिदाबादसम्म
गोरखा स्थायी ठेगाना भई चितवन घर भएका नेपालीले पोखरामा मदजुरी गर्ने गरेका थिए । कामकै क्रममा चिनजान भएका अमृत गुरुङले उनलाई काठमाडौंमा गएर काम गरे धेरै कमाइ हुने भन्दै भीमप्रसाद न्यौपानेसँग भेट गराएका थिए । न्यौपानेले नेपालीलाई काठमाडौं ल्याएर तिमिल्सिनालाई चिनाए । तिमिल्सिनाले उनलाई नेपालमा भन्दा भारतमा राम्रो कमाइ हुने प्रलोभन देखाएका थिए ।

प्रहरीका अनुसार भेटपछि उनीहरूले गौशालाको एक होटेलमा मदिरा पिएका थिए । मदिरा पिउँदै दिल्ली जाने सल्लाह भएको थियो । दिल्लीमा पुगेपछि उनी होटेलमै बेहोस भएका थिए । तिमिल्सिनाले मदिरामा बेहोस हुने पदार्थ मिसाएर खुवाएका थिए । होटेलबाट नेपालीलाई एक क्लिनिकमा पुर्‍याइएको प्रहरीले जनाएको छ । क्लिनिकमा बेहोस हुने थप औषधि खुवाएर नेपालीको एउटा मिर्गाैला निकालिएको थियो । बेहोस हुँदा छेउमा उनै तिमिल्सिना थिए । जसले गुन्डाले आक्रमण गरेको बताएका थिए ।

तिमिल्सिनाकै सहयोगमा नेपाली घर फर्किएका थिए । फर्किएपछि तिमिल्सिनाले थप उपचार गर्न २८ हजार रुपैयाँसमेत दिएको प्रहरीले जनाएको छ । ‘विनाकारण किन पैसा दियो भनेर मलाई अचम्म लागिरहेको थियो,’ बिहीबार प्रहरी कार्यालयमा भेटिएका नेपालीले भने, ‘अस्पतालमा डाक्टरहरूले तपाईंको एउटा मिर्गाैला झिकिएको छ भनेपछि मात्र वास्तविकता थाहा पाएँ ।’

महाशाखाका एसएसपी खनालका अनुसार तिमिल्सिनाको समूहले तीन लाखदेखि पाँच लाख रुपैयाँसम्ममा नेपालीको मिर्गाैला बिक्री गरेका थिए । हालसम्म प्रहरीमा पुगेका पाँच घटनामा रोजगारीको प्रलोभनमा भारत पुर्‍याएर बेहोस बनाई मिर्गाैला तस्करी गरेको खुलेको खनालको भनाइ छ ।

‘विगतमा आर्थिक प्रलोभनमा पारेर मिर्गाैला तस्करी हुने गरेको थियो,’ एसएसपी खनालले भने, ‘अहिले झुक्याएर यस्तो धन्दा हुन थालेको छ ।’ तिमिल्सिना गिरोहका केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । नवराज मैनालीर/नयाँ पत्रिकाबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com