ग्रिनकार्डका लागि नक्कली विहे गरेको आरोपमा श्रेष्ठलाई साढे २ लाख डलर जरिवाना र ५ बर्ष जेल सजाय हुनसक्ने
प्रकाशित मिति : माघ ६, २०७५ आईतबार
ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा एकजना नेपाली फन्दामा परेका छन् । क्यालिफोर्निया निवासी २७ बर्षका इलोभ श्रेष्ठले गतबर्षको समरमा एकजना महिलालाई १३ हजार डलर तिर्ने गरी विहे गरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ ।
गत नोभेम्बरमा श्रेष्ठबिरुद्ध मुद्दा दायर गरिएपनि गत सातामात्र उनलाई पक्राउ गरिएको हो । ६ महिनाको भिजिटर भिसामा सन् २०१५ मा आएका श्रेष्ठलाई जनवरी ११ मा सान होजेको अदालतमा पेश गरिएको थियो । उनलाई अहिले ५० हजार डलर धरौटीमा रिहा गरिएको छ ।
श्रेष्ठको अर्को अदालती सुनुवाई जनवरी २८ मा हुने जनाइएको छ । होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट गत जुन १ मा २८ बर्षकी मरिना मुसेरो नामकी महिलाले विवाहसम्बन्धी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।
त्यसपछि श्रेष्ठले जुन १३ मा उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर तिर्ने सहमति भएपछि जुन २५ मा उनीहरुबीच विवाह भएको जनाइएको छ । अदालती कागजात अनुशार श्रेष्ठले मुसेरोलाई ३ हजार डलर तिरिसकेका छन् ।
मुसेरोले अदालतसमक्ष जालसाजी विवाहको आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । श्रेष्ठ यदि दोषी ठहरिएमा ५ बर्षसम्मको जेलसजाय र साढे २ लाख अमेरिकी डलरसम्म जरिवानाको सजाय हुनसक्ने जनाइएको छ । दोषी ठहरिएमा श्रेष्ठ सजायपछि नेपाल देशनिकाला हुनसक्नेछन् ।
युवतीलाई पनि सोही प्रकारको सजाय हुने जनाइएको छ । तर युवतीको सजायको फैसला सुनाउने मिति भने अझै तय गरिएको छैन ।






