हुलियन क्यास्ट्रोले गरे अमेरिकन राष्ट्रपतिमा उम्मेदवारी घोषणा, सार्वजनिक बस चढेर घोषणास्थल
प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार
ओबामा कार्यकालमा क्याबिनेट सदस्य समेत रहेका हुलियन क्यास्ट्रोले अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारीको घोषणा गरेका छन् । सन् २०२० को नोभेम्बरमा हुने चुनावका लागि क्यास्ट्रोले डेमोक्रेटिक उम्मेदवारका रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
सान आन्टोनियोको मेयर समेत भइसकेका ४४ बर्षीय क्यास्ट्रोले एकदेश एक भाग्यको नारासहित डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावमा उम्मेदवारी दिने भएका छन् । तर उनले २०२० को नोभेम्बरमा हुने चुनावमा प्रतिस्पर्धा गर्नु अगाडि भने डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाव जित्नुपर्ने हुन्छ ।
यस अगाडि अमेरिकी प्रतिनिधिसभासदस्य तुल्सी गब्बार्डले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । तुलसी गब्बार्ड उम्मेदवारीको औपचारिक घोषणा भने अर्को साता गर्ने जनाइएको छ ।
ल्याटिनोहरुमाझ लोकप्रिय क्यास्ट्रो आफ्नो उम्मेदवारीको घोषणा गर्ने कार्यक्रममा सार्वजनिक बस चढेर पुगेका थिए । आफूहरु स्कुल जाँदा चढ्ने गरेको बस नम्बर ६८ चढेर उनी उम्मेदवारी घोषणास्थल पुगेका थिए ।






