कामदार भिसामा आउनेलाई अमेरिकी नागरिकतासम्म दिने नियम परिवर्तनको तयारीमा ट्रम्प


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसामा अमेरिका आउनेहरुलाई अमेरिकी नागरिकताको बाटोसम्म लैजाने गरी एचवान बी भिसामा परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार ट्रम्पले गरेको ट्वीटमा आफूहरुले क्षमतावान व्यक्तिलाई सधै अमेरिकामा भविश्य निर्माणका लागि प्रोत्साहित गर्ने र सम्भावित नागरिकताको बाटोसम्म लैजाने गरी कार्यक्रममा परिवर्तन ल्याउने बताएका छन् ।

एचवानबी प्रणाली अन्तरगत अमेरिकन कम्पनीहरुले अस्थायीरुपमा विदेशी कामदारहरुलाई रोजगार दिलाउन सक्छन् । हालको अवस्थामा एचवानबीबाट ग्रिनकार्डमा जानका लागि रोजगारदाता कम्पनीहरुले एचवान बी भिसामा रहेका कामदारहरुलाई लेबर सर्टिफिकेशन फाइल गर्दै ग्रिनकार्ड स्पोन्सर गर्न सक्ने प्रावधान रहेको छ ।

अहिलेको अवस्थामा एचवानबीबाट ग्रिनकार्डमा जानका लागि नेपालीहरुलाई झण्डै २ बर्षको अवधि लाग्ने गरेको हालसम्म झण्डै ५० हजारभन्दा धेरै कामदार भिसाका आवेदन स्वीकृत गराइसक्नुभएका अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभयो । तर भारतीयहरुका लागि भने एचवानबीचबाट ग्रिनकार्डमा जानका लागि ५ देखि १५ बर्षसम्मको अवधि लाग्ने गरेको उहाँको अनुभव छ ।

एचवानबीबाट ग्रिनकार्डमा जानका लागि कमसमय लाग्ने गरी ट्रम्प प्रशासनले परिवर्तन ल्याउन चाहेको सेडाईले जानकारी दिनुभयो । तर त्यसका लागि एचवानबी भिसाका लागि अमेरिकन मास्टर डिग्रीलाई प्राथमिकता दिने गरी यसैबर्षदेखि नयाँ नियम ल्याइसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com