अमेरिकी सरकार शटडाउनबाट एसाइलमका मुद्दा स्थगित, नेपाली प्रभावित


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा कैयन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ ।

एसाइलमका मुद्दाहरुको सुनुवाई स्थगित हुँदा कैयन नेपालीका एसाइलम मुद्दाहरु पनि पछि सारिएका छन् । सरकार शटडाउनका कारण कैयन अध्यागमन मुद्दाहरु अनिश्चितकालका लागि पछाडि सारिएका छन् । जसका कारण अदालती सुनुवाई कुरेर बसिरहेका कैयन आवेदकहरु निराश हुनु परेको छ ।

सरकार शटडाउनका बेलामा स्थगित मुद्दाको अर्को सुनुवाई मितिका लागि महिनौं वा बर्षसम्म पनि कुर्नुपर्ने हुनसक्ने कानुन व्यवसायीहरुले बताएका छन् । कैयन मुद्दामा एकठाउँबाट अर्को ठाउँमा साक्षीहरु, वकिलहरु र अनुवादकहरु यात्रा गर्नुपर्ने अवस्थामा एसाइलमका मुद्दाहरु स्थगित हुँदा आवेदकले आर्थिक भारसमेत सहनुपरेको छ ।

सिमानामा पर्खाल लगाउनका लागि ५ बिलियन बजेट पारित हुनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको मागमा भएको विवादका कारण बजेट पारित हुन नसक्दा डिसेम्बर २२ देखि अमेरिकी सरकार शटडाउन जारी रहेको छ । कम्तीको जनवरीको पहिलोसातासम्म अमेरिकी सरकार खुल्ने सम्भावना नरहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com