उपराष्ट्रपतिले भने ‘मैले आज तपाईंलाई मानेँ, दाइ !’


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

माओवादी पार्टी युद्धमा थियो । हातहतियार, गोलीगट्ठा, विस्फोटक पदार्थलगायतका युद्धसामग्रीको जरुरत पर्थ्यो । त्यस्ता सामग्री जुटाउने तथा नेपालसम्म ल्याउनका लागि पार्टीले जनमुक्ति सेनाको केन्द्रीय कमान्डको मातहत सप्लाई विभाग बनाएको रहेछ । यो विभाग जनमुक्ति सेनाको डेपुटी कमान्डको मातहत रहेछ ।

सप्लाई विभागको इन्चार्जमा चन्द्रप्रसाद खनाल (बलदेव) हुनुहुन्थ्यो । उहाँ पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । म क्षेत्रीय ब्युरो सदस्य बनाइएको थिएँ । त्यही हैसियतमा मेरो जिम्मेवारी सप्लाई विभागमा तोकियो ।

सप्लाई विभागको इन्चार्ज चन्द्रप्रसाद खनाल (बलदेव) भइहाल्नुभयो, अन्य सदस्यमा मध्यकमान्डका रामप्रसाद बन्जाडे (टङ्कमणि), पश्चिम कमान्डको म (महेश), लखनउ कार्यालयका निर्मल आचार्य (विमल), लक्ष्मी पौडेल, पूर्वी कमान्डका लक्ष्मी पौडेल (विवेक), सुशील गौतम, सुशील (जाजरकोट), दिलीप साह, गोपी ज्ञवालीलगायत थियौँ ।

विभागका लागि अनौपचारिक खालका केन्द्र थिए, नागाल्यान्ड, सिलिगुडी, गोरखपुर, लखनउ, दिल्ली, मुरादाबाद आदिमा । उत्तरप्रदेशमा हुने खरिद र सप्लाई लखनउ केन्द्रबाट गरिन्थ्यो । लखनउ केन्द्र मेरो जिम्मामा थियो । असम, नागाल्यान्ड र मणिपुर क्षेत्रका लागि नागाल्यान्डलाई केन्द्र बनाइयो । यो केन्द्रको जिम्मेवारी लक्ष्मी पौडेल र मैले लियौँ ।

गोरखपुर केन्द्रको जिम्मेवारी रामप्रसाद बन्जाडेलाई थियो । सिलिगुडीको जिम्मेवारी लक्ष्मी पौडेल (विवेक) ले लिनुभयो । पटना केन्द्रको प्रमुख दिलीप साह हुनुहुन्थ्यो, जो नातामा मातृका यादवका ज्वाइँ हुनुहुन्छ । खरिद गरिएका सामग्री स्टोरका लागि हामीले यी केन्द्रहरूमा कोठा लिएका थियौँ ।

हामी निकै सतर्कताका साथ हतियार र गोलीगट्ठा बेच्नेहरूसँग भेटघाट र कुराकानी गर्थ्यौै । यस्ता सामग्रीको किनबेच अपराधी मार्फत हुन्थ्यो । एकातिर पैसाका लागि उनीहरूले हामीलाई नै सिध्याइदिने खतरा हुन्थ्यो भने अर्कातिर सरकारी सुरक्षा निकायले फेला पारेमा पनि पक्राउ पर्ने र सिध्याइदिने खतरा थियो । संकलन गरिएका सामग्री प्रहरीले पक्राउ गरिदियो भने जनमुक्ति सेनाका ठूलठूला योजना खेर जान सक्थे । 

हामीले उताबाट खरिद गरेर पठाएका हतियार र गोलीगट्ठाका आधारमा यता सेना–प्रहरीमाथि आक्रमणको योजना बन्थ्यो । त्यसैले सप्लाईको जिम्मेवारी पाएका मानिसहरू असाध्यै सतर्क अवस्थामा हुन्थ्यौँ । हामी आफू बस्ने र किनिएका सामग्री राखेका कोठा कसैलाई देखाउँदैनथ्यौँ । सप्लाईको जिम्मेवारी पाएका नेतालाई बाहेक अरू कसैलाई आफ्नो कोठामा लग्दैनथ्यौँ । पार्टी हेडक्वार्टरले ‘फलाना साथीलाई लैजानू’ भन्यो भने मात्र कोठामा लग्ने गर्थ्यौं । पार्टीका नेताहरूसँग पनि हामी भेटघाट र कुराकानी बाहिर नै गर्थ्यौं । कुनै जिम्मेवारी पाउनासाथ हामी त्यसलाई पूरा गर्न लागिहाल्थ्यौँ ।

जनमुक्ति सेनासँग राज्यको सैनिक शक्तिसँग लड्ने साहस र आँट त थियो, तर त्यसअनुसारका हतियार थिएनन् । जे थिए, प्रहरीसँग कब्जा गरिएका थ्री नट थ्रीलगायतका हतियार मात्र थिए । त्यसैले सेनासँग लड्नुपर्ने स्थितिलाई मध्यनजर गर्दै आधुनिक हतियारको खोजी र खरिद वार्ताकालमै गरिन थालेको थियो ।

पहिलो वार्ता भङ्ग भएसँगै २०५८ मंसिर ८ मा दाङ र स्याङ्जा जिल्ला सदरमुकाममा जनमुक्ति सेनाले हमला गर्‍यो । मंसिर १० मा सोलुमा पनि हमला भयो । दाङ र सोलु सदरमुकाममा शाही सेनाका ब्यारेक थिए । सेनामाथि विजय हासिल गरेपछि मात्र ती जिल्ला सदरमुकाममाथिका आक्रमण सफल भएको मानिन्थ्यो । सेनामाथि आक्रमणका लागि आधुनिक हतियार पनि आवश्यक पर्थ्यो । हामीले पाँचवटा आधुनिक हतियार ल्याएका थियौँ । तीमध्ये तीनवटा एके–४७ र दुइटा एके–५६ राइफल थिए ।

हतियार लिन जनमुक्ति सेनाका कमान्डर पासाङ र म २०५८ सालको कात्तिक तेस्रो साता काँकडभिट्टा गयौँ । साथमा सप्लाई विभागका अर्का सदस्य रामप्रसाद बन्जाडे पनि हुनुहुन्थ्यो । बाटामा कुनै समस्या आइपरेन । सहज रूपमा गन्तव्यमा पुग्यौँ । त्यो बेला पासाङ सार्वजनिक हुनुभएको थिएन । त्यसैले कसैले पनि हतपती चिन्दैनथे । फेरि, हामी आफैँले व्यवस्था गरेको गाडीमा भएकाले त्यहाँसम्म पुग्न सजिलो पनि थियो ।

पासाङले हतियार हेर्नुभयो, राम्रा रहेछन् । आधुनिक हतियार, त्यो पनि राम्रो हालतका ! उहाँ औधि खुसी हुनुभयो । ती राइफलहरू सिलिगुडी हुँदै ल्याइएका थिए । झापाको काँकडभिट्टाबाट पूर्वतर्फ नेपाल–भारत सीमानजिकैको पानीट्याङ्कीसम्म भारतीयहरूले ल्याइदिएका थिए, लक्ष्मी पौडेल (विवेक) को पहलमा । उहाँ सप्लाई विभागको जिम्मेवारी लिएर सिलिगुडी बस्नुहुन्थ्यो । ती राइफल उहाँले नै काँकडभिट्टासम्म ल्याउनुभएको थियो । सबैभन्दा पहिले आधुनिक हतियार खरिद गरिएको घटना नै त्यही थियो । राइफलसँगै तिनमा लाग्ने ५,००० गोली पनि ल्याइएका थिए ।

जताततै सेना–प्रहरीको चेकिङ थियो । पूर्वको नाका काँकडभिट्टाबाट ती हतियार सोलु र दाङसम्म पुर्‍याउनुपर्ने थियो । सोलु जाने हतियार हेटौँडामा छाडिदिने तय थियो । बाँकीमध्येका हतियार बुटवल र दाङसम्म पुर्‍याउनुपर्ने थियो ।

ती राइफल सुरक्षित रूपमा दाङसम्म पुर्‍याउने उपाय हामीले सोचिसकेका थियौँ । तिनलाई गाडीको अघिल्लो सिटमुनिको खाली भागमा राख्यौँ । माथिबाट फलफूलका बिरुवाले छोपिदियौँ । बिरुवाले छोपिएपछि प्रहरीले गहिरिएर चेकिङ गर्ने सम्भावना कम थियो ।

हाम्रो उपायले गजबसँग काम गर्‍यो । राजमार्गमा भेटिएका प्रहरीहरूले गाडी रोकेर यसो भित्र हेरेजस्तो गरे, फलफूलका बिरुवा देखेपछि केही भनेनन् । यसरी नै हामी हेटौँडासम्म सहजै पुग्यौँ ।

सोलुका लागि एउटाएउटा एके–४७ र एके–५६ हेटौँडामा छाड्यौँ । चियाखाजा खाएर हामी अघि बढ्यौँ ।

हेटौँडादेखि बुटवलसम्म पनि कुनै अप्ठेरो भएन । राजमार्गका चेकिङ प्वाइन्टहरूमा हामी गाडी रोक्थ्यौँ । निजी नम्बर प्लेटको पजेरो गाडी भएकाले प्रहरीले खासै वास्ता गरेन । फलफूलको बिरुवा राखिएको ठाउँमा उनीहरूको नजरै परेन । परे पनि शङ्का गरेनन् ।

बुटवल पुगेपछि एउटा राइफल त्यहीँ छाड्यौँ । यो राइफल स्याङ्जा सदरमुकाममा आक्रमणका लागि थियो ।

अब हामीसँग दाङसम्म पुर्‍याउनुपर्ने एउटाएउटा एके–४७ र एके–५६ बाँकी थिए ।

मेरो सल्लाहअनुसार पासाङ गाडीको अघिल्लो सिटमा बस्नुभएको थियो । प्रहरीले धेरै सोधपुछ गरे उहाँलाई कृषि विकास बैंक, नेपालगन्जको म्यानेजरका रूपमा चिनाउने मेरो योजना थियो । गाडी मैले हाँकेको थिएँ । पासाङलाई बैंकको म्यानेजनरका रूपमा चिनाएपछि मैले आफूलाई उहाँको ड्राइभरका रूपमा चिनाउँदा भइहाल्थ्यो । हामी बिनाअवरोध भालुबाङ पुग्यौँ । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । तर, त्यहाँ पुग्नासाथ नयाँ संकट सिर्जना भयो ।

भालुबाङ पुग्नुअगावै राप्ती नदी छ । नदीमाथि पुल । त्यो पुलपारि प्रहरीको पोस्ट थियो । पुल तर्नासाथ प्रहरीहरू राजमार्गमा ब्यारिअर लगाएर बसेका थिए । हामी पुल पार गर्नासाथ उनीहरूले त्यो ब्यारिअर बन्द गरे । ब्यारिअर लगाएपछि हामी रोकिन बाध्य भयौँ । अघि बढ्न सक्ने स्थिति नै भएन ।

ब्यारिअर बन्द गरेर एउटा प्रहरी हाम्रो गाडीअगाडि आइपुग्यो । उसले ड्राइभर बस्ने सिटतिरको ढोका खोल्यो । ढोका खोलेपछि गाडीभित्रको बत्ती स्वचालित रूपमा बल्थ्यो । यदि बिरुवाहरूलाई अलिकति सारिदिने हो भने राइफलमा प्रहरीको दृष्टि परिहाल्थ्यो ।

संकट आँखाअगाडि नै आइसकेको थियो । आत्तिँदैमा यसबाट पार पाउन सकिन्नथ्यो । झटपट उपायको खोजी गर्नुबाहेक अर्काे विकल्प थिएन ।

मैले उपाय निकालेँ । प्रहरीले हाम्रो गाडीको ढोका खोल्नासाथ मैले हतपत गाडीको स्टार्ट बन्द गरिदिएँ । गाडीको स्टार्ट बन्द भएपछि भित्रको बत्ती बल्दैनथ्यो ।

म गाडीबाट झरेँ र प्रहरीले खोलेको ढोका बन्द गरेँ । पासाङ गाडीभित्रै हुनुहुन्थ्यो । बत्ती निभेपछि उहाँको अनुहार राम्रोसँग चिनिएन । बिरुवामुनि लुकाइएका हतियार पनि देखिएनन् ।
म गाडीबाट झर्नासाथ प्रहरीसँग मेरो सवालजवाफ सुरु भयो ।

‘गाडी नम्बर इन्ट्री गर्नुपर्ने हो ?’ मैले सोधेँ ।

‘कहाँ जाने ?’ प्रहरीले सोध्यो ।

‘नेपालगन्ज ।’

पासाङतर्फ देखाउँदै उसले सोध्यो, ‘उहाँ को हो ?’

मेरो रेडिमेड जवाफ थियो, ‘कृषि विकास बैंकको म्यानेजर सा’ब हुनुहुन्छ उहाँ । उहाँलाई नै लिएर नेपालगन्ज जान लागेको हुँ ।’

उसले जे–जे सोध्यो, मैले फटाफट उत्तर दिएँ । त्यसैले उसले कुनै शंका नै गर्न पाएन । यति सवालजवाफपछि उसले गेट खोल्यो र भन्यो, ‘ल जानुस् ।’

भालुबाङबाट दाङको नर्ती भन्ने ठाउँ पाँच–सात किलोमिटरको दूरीमा थियो । भालुबाङदेखि नर्तीसम्म पुग्दा पासाङ बोल्दै बोल्नुभएन । उहाँ निकै गम्भीर मुद्रामा हुनुहुन्थ्यो ।

‘के भयो ?’ मैले सोधेँ ।

पासाङले भन्नुभयो, ‘मैले त अब मरियो, ज्युँदो जाने भइएन भन्ने सोचिसकेको थिएँ । लडाइँ असफल हुने भयो, हतियार नजाने भए भन्ने चिन्ताले सताउन थालिसकेको थियो । हतियारसहित समातेका भए पक्कै पनि हामीलाई मार्ने थिए । तर, तपाईंले जोगाउनुभयो । मैले आज तपाईंलाई मानेँ, दाइ !’

मैले ठट्टा गर्दै भनेँ, ‘तिमीहरूले सधैँ मानेकै त छौ नि ! आज मात्र हो र ?’

माओवादी द्वन्द्वमा पार्टीका लागि हतियार पैठारीको जिम्मेवारी बहन गरेका स्वर्गीय भक्ति पाण्डेको प्रकाशोन्मुख पुस्तक ‘चाचा’ को अंश : पुस्तक सोमवार विमोचन  हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com