अमेरिकी सरकार शटडाउनबारे ५ प्रश्नोत्तर


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

अमेरिकी सरकार आंशिक रुपमा शटडाउन भएपछि त्यसबाट को को प्रभावित हुन्छन् भन्नेबारेमा जिज्ञासा उत्पन्न भएको छ । सिमानामा पर्खाल लगाउने विषयमा विवादका कारण खर्च विधयेक पारित हुन नसक्दा शुक्रबार रातीदेखि अमेरिकी सरकार शटडाउन भएको छ ।

के सम्पूर्ण सरकार शटडाउन भएको हो ?
होइन । यसपटक अमेरिकी सरकार आंशिक रुपमा शटडाउन भएको हो । पेन्टागन, डिपार्टमेन्ट अफ भेट्रान अफेयर्स, डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस लगायतका निकायलाई सन् २०१९ सेप्टेम्बरसम्मका लागि संचालन गर्न बजेट पारित भएको छ । त्यसैले सरकार शटडाउन हुँदा यी क्षेत्रहरु प्रभावित हुँदैनन् ।

कति संघीय कर्मचारीहरु प्रभावित भएका छन् ?

केहीमात्र । खासगरी अमेरिकी विदेश मन्त्रालय, न्याय, अर्थ, यातायात र होमल्याण्ड सेक्युरिटीका केही कर्मचारीहरु यसबाट प्रभावित भएका छन् । झण्डै २१ लाख कर्मचारीहरुमध्ये कुनै न कुनै रुपमा झण्डै ८ लाख कर्मचारीहरु प्रभावित भएका छन् । यदि सरकार शटडाउन जारी रहेमा आधाजस्तो कर्मचारीहरु विना तलव घरमा रहनेछन् ।

सरकार शटडाउनको असर कहिलेदेखि पर्नेछ ?

यसको प्रत्यक्ष असर केहीदिनपछि पर्नेछ । किनभने संयोगबश मंगलबारसम्म सरकारी विदा रहेकाले बुधबारदेखि त्यसको असर पर्ने देखिएको छ । सोमबार क्रिसमस इभ रहेकाले सरकारी विदा घोषणा गरिएको छ भने मंगलबार क्रिसमस रहेकाले विदा रहेको छ ।

हवाई यातायात के हुनेछ ?

यदि तपाई हवाई यातायात प्रयोग गर्दै हुनुहुन्छ भने शटडाउनले कुनै असर गर्नेछैन । सबै हवाई यातायात संचालनमा रहनेछन् । एयर ट्राफिक कन्ट्रोलरहरु र फेडरेल एयरलाइन सेफ्टी इन्स्पेक्टरहरु काममा नै रहनेछन् । एयरपोर्टको सेक्युरिटी पनि नियमित संचालनमा रहनेछ ।

शटडाउनमा कस्ता कामहरु प्रभावित हुनेछन् ?

शटडाउनका बेलामा आइआरएस बन्द रहनेछ । सबै संघीय आयोगहरुका फोनकलहरु उठ्नेछैनन् । साना ब्यापार प्रशासन बन्द रहनेछ । स्मीथसोनियन संग्राहालय र राष्ट्रिय चिडियाघरहरु भने जनबरी १ सम्म खुल्ला रहनेछन् । त्यसपछि भने शटडाउन कायम रहे सबै संग्राहालयहरु बन्द हुनेछन् । केही नेशनल पार्कहरु आंशिक खुल्ला रहनेछन् भने केही बन्द हुनेछन् । युएससीआईएस, हुलाक लगायतका सेवाहरु सुचारु रहनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com