ट्रम्पको एसाइलम प्रतिबन्ध सर्बोच्च अदालतबाट अस्वीकार


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासीलाई एसाइलमको अधिकार नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिन अमेरिकी सर्बोच्च अदालतले पनि अस्वीकार गरेको छ । शुक्रबार सर्बोच्च अदालतले ट्रम्पको एसाइलमबारेको उक्त आदेश कार्यान्वयनका लागि सरकारलाई अनुमति नदिने फैसला गरेको हो ।

नोभेम्बर ९ देखि कम्तीमा ९० दिनसम्म अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलमको अधिकार नदिने गरी गत नोभेम्बर ९ मा राष्ट्रपति ट्रम्पले जारी गरेको आदेश क्यालिफोर्नियाको अदालतले कार्यान्वयनमा रोक लगाएको थियो । त्यसपछि ट्रम्प प्रशासन आदेश कार्यान्वयनका लागि अनुमति माग्दै अपिल कोर्टमा पुगेको थियो । अपिल कोर्टले पनि तल्लो अदालतकै फैसलालाई सदर गरेको थियो । त्यसपछि सर्बोच्च अदालतमा पुगेको ट्रम्प प्रशासनको त्यहाँ पनि पराजय भएको छ ।

सर्बोच्च अदालतमा ९ जना न्यायाधिसहरुले ट्रम्पको उक्त आदेश कार्यान्वयन हुन नहुने पक्षमा ५ र हुनुपर्ने पक्षमा ४ जना न्यायाधिसहरुले मतदान गरेका थिए । सर्बोच्च पनि तलकै अदालतको फैसलालाई सदर गरिदिएपछि गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई एसाइलमको अधिकार नै नदिने ट्रम्पको कार्यकारी आदेश कार्यान्वयन नहुने भएको छ ।

सर्बोच्च अदालतका ४ जना उदार न्यायाधिसका साथमा प्रधानन्यायाधिस जोन रोबर्टस्ले पनि ट्रम्पको आदेशबिरुद्ध मतदान गरेका थिए । जोन रोबट्स रिपब्लिकन राष्ट्रपति जर्ज बुसले नियुक्त गरेका रुढीवादी न्यायाधिस हुन् । ८५ बर्षीय न्यायाधिस रुथ बाडर जिन्सबर्गले पनि न्युयोर्कको क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको उपचारमा जानु अगाडि ट्रम्पको आदेशको बिरुद्धमा मतदान गरेका थिए ।

नवनियुक्त न्यायाधिस ब्रेट काभानगका साथमा सर्बोच्चका अन्य तीनजना न्यायाधिसहरुले पनि ट्रम्प प्रशासनलाई साथ दिएका थिए । ट्रम्पले नोभेम्बर ९ मा जारी गरेको कार्यकारी आदेशमा पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गर्नेलाईमात्र एसाइलमको अधिकार दिइने स्पष्ट पारिएको थियो । नोभेम्बर १९ मा संघीय जिल्ला अदालतका न्यायाधिस जोन टिगरले आदेश कार्यान्वयनमा रोक लगाउँदै अस्थायी आदेश जारी गरेका थिए ।

ट्रम्पको उक्त आदेश कार्यान्वयनमा रोक लगाइएपछि अब अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुले एसाइलमको अधिकार त पाउनेछन् तर बिहिबार जारी नयाँ नियम अनुशार उनीहरुले एसाइलमको अदालती प्रकृयाका क्रममा मेक्सिको बसेर प्रतिक्षा गर्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com