अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

अब अमेरिकामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने भएको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् । अमेरिकाको अध्यागमन कानुनको सेक्सन २३५ बी,२ सी अन्तरगत यस्तो निर्णय गरिएको र यो निर्णय तुरुन्तै कार्यान्वयन हुने भएको छ ।

मेक्सिकोबाट गैरकानुनी रुपमा वा उपयुक्त कागजपत्रविना सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरुलाई अध्यागमन प्रकृया चलिरहँदासम्मका लागि मेक्सिको पठाउन सकिने भएको छ । अमेरिकामा गैरकानुनी अध्यागमन संकट नियन्त्रणका दिशामा यो ऐतिहासिक कदम भएको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले जनाएकी छिन् ।

अमेरिकामा अहिलेसम्म एसाइलम गर्ने व्यक्तिलाई रिहा गरेर अदालती निर्णय कुर्न दिइने गरेकोमा अबदेखि त्यस्ता व्यक्तिले मेक्सिकोमा बसेर नै अदालतको निर्णय कुर्नुपर्नेछ । यसअगाडि अदालतको निर्णय कुर्दै अमेरिकामा बसेर आवेदकले काम गर्न सक्ने प्रावधान रहेको थियो । क्याच एण्ड रिलिज नीतिको अन्त्य गरेर अब क्याच एण्ड रिटर्न नीति लागु गरिएको अमेरिकी सरकारले जनाएको छ ।

मेक्सिको फिर्ता पठाइएकाहरुले मेक्सिको सरकारबाट मानवीय भिसा प्राप्त गर्ने र अध्यागमन प्रकृया पूरा नहुँदासम्म उनीहरुलाई मेक्सिकोमा बस्ने, काम गर्ने वतावरण बनाउने अमेरिकी सरकारको अपेक्षा रहेको छ । यसबारे मेक्सिकोको सरकारलाई जानकारी गराइसकिएको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले जनाएकी छिन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसको प्रकृयाबारे पनि स्पष्ट पारेको छ । मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई अमेरिकामा रिहा नगरिने, उनीहरुले मेक्सिकोमा बसेर अध्यागमन प्रकृया कुर्नुपर्ने र अमेरिकी न्यायाधिसले अनुमति प्रदान गरेपछिमात्र अमेरिका छिर्न पाउने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

यो निर्णयमा अमेरिकामा नक्कली एसाइलममा कमी आउने र अदालतको निर्णय अगाडि नै कागजपत्रविहिन अमेरिकामा बेपत्ता हुने क्रम रोकिने अमेरिकी सरकारको अपेक्षा रहेको छ । मेक्सिकोको बाटो हुँदै ठूलो संख्यामा नेपालीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्दै आएका छन् । अमेरिकी सरकारको यो निर्णयबाट अमेरिका गैरकानुनी रुपमा आउन चाहने र एसाइलम गर्ने नेपालीहरु प्रभावित हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com