वर्ल्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीमा सधैका लागि नेपालको झण्डा फहराईदै, नेपाल १२ औं देश


प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार

न्युयोर्कको म्यानहटनको वल्र्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीको एक्सचेन्ज प्लेसमा स्थायी रुपमा नै नेपालको झण्डा फहराईने भएको छ । न्युयोर्कको म्यानहटनदेखि पारीपट्टी जर्सी सिटीको एक्सचेन्ज प्लेसमा आफ्नो देशको झण्डा फहराउनेमा नेपाल १२ औं देश हुने भएको छ ।

जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर विष्णुमाया परियारको विशेष पहलमा उक्त स्थानमा नेपालको झण्डा फहराउन लागिएको हो । त्यहाँ अहिलेसम्म फिलिपिन्स, कोरिया, पोर्तोरिको, डोमेनिकन रिपब्लिक, पेरु, अर्जेन्टिना, स्पेन, ट्रिनाड टोबागो, भारत र रोमानियाको झण्डा राखिएको छ । जर्सी सिटी काउन्सिलको निर्णबाट एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराउन लागिएको हो । यसबारे भोलि बस्ने बैठकबाट औपचारिक निर्णय गरिने जर्सी सिटी काउन्सिलले जनाएको छ ।

एक्सचेन्ज प्लेसमा जाँदा अरुदेशको झण्डा देख्दा त्यहाँ नेपालको झण्डा पनि फहराउन मन लागेकाले आफूले त्यसबारे पहल सुरु गरेको जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारले जानकारी दिनुभयो । त्यसपछि आफूले यसबारे काउन्सिल प्रेसिडेन्टसँग सल्लाह गरेको र आफूसँगका झण्डै १० वटा बैठकहरु पछि झण्डा फहराउने निर्णयमा जर्सी सिटी काउन्सिल पुगेको परियारले जानकारी दिनुभयो । यो निर्णय गराउन आफूलाई झण्डै १ बर्ष लागेको उहाँको भनाई छ ।

झण्डा फहराउने मिति भने जर्सी सिटी काउन्सिलले छिट्टै तय गर्नेछ । एक्सचेन्ज प्लेसमा न्युयोर्कको म्यानहटन र वल्र्ड टे्रड सेन्टरको दृश्य हेर्न जाने विश्वका पर्यटकहरुको भींड हुने गर्दछ । जसबाट विश्वमा नेपाल र नेपालको झण्डालाई चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यसअगाडि गतबर्षको को जुन ३० मा न्युजर्सीका मेयर स्टेभन फुलपले डाक्टर बिष्णुमाया परियारकै पहलमा जर्सी सिटी काउन्सिलको कार्यालयमा नेपालको झण्डा फहराएका थिए । अमेरिकाको झण्डासँगै उक्त दिन नेपालको झण्डा फहराउँदा विश्वभरका नेपालीहरुले गर्वको महसुस गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com