पूर्व राजा ज्ञानेन्द्रकाे विज्ञप्ति विरुद्ध नयाँ शक्तिको विज्ञप्ति


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

प्रतिगामी तथा पुनरुत्थानवादी हर्कतका विरुद्ध नयाँ शक्ति पार्टी

विज्ञप्तिकाे पूर्णपाठ :

सुशासन, विकास र समृद्धिको जनचाहना विपरित शान्ति स्थिरता र विकासका सट्टामा पुराना दलहरु नानीदेखि लागेको बानी भने झैं फगत कुुर्सीको झगडामा चुर्लुम्म डुबेको मौका छोपी ज्ञानेन्द्र शाहद्वारा ‘पुर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवद्वारा जारी गरिबक्सेको प्रेस विज्ञप्ति’ शिर्षक दिइएको उक्त प्रेस विज्ञप्तीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाली जनताको भारी अभिमतमार्फत संविधानसभाबाटै विधिवत अन्त्यभै मसानघाटमा पुगेको राजतन्त्रको भूतले घुमाउरो पाराले आफूलाई स्थायी र लौकिक सत्ताको दावा गर्दै धुमिल हुन पुगेको, हिमाल, पहाड र तराई टुक्र्याउन खोजिएको जस्ता प्रतिगामी प्रतित हुने अभिव्यक्तिसहितको उक्त विज्ञप्ती नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानको अपमान त हुँदै हो, नेपाली जनताको परिवर्तनको चाहनाप्रतिको खुला चुनौती पनि हो भन्ने हामी ठान्दछौं ।
धमिलो पानीमा माछा मार्न पल्केका प्रतिगामी तथा पुनरउत्थानवादीहरु र परिवर्तनको मर्म एवं जनचाहनालाई तिलाञ्जली दिँदै निहित कुर्सीको लोभमा सति जाने परम्परागत राजनैतिक दलहरु दुवै नेपाली जनताको परिवर्तनको चाहना र विकास समृृद्धिको अभिलाषाका वाधक तत्वहरु हुन भन्ने कुरा अब दिनको घाम झैं छर्लङ्ग भएको छ ।
विगत ७० वर्षदेखिको नेपाली जनताको चाहना, सोका निम्ति जनताको त्याग बलिदान र उत्सर्गको परिणामस्वरुप प्राप्त गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र अब नेपाली राजनीतिको आधारभूत मान्यता भैसकेको छ । उक्त विज्ञप्ती नेपाली जनतामा निहित सार्वभौमसत्ता नेपालको संविधान र संविधानले संस्थागत गरेका आधारभूत मान्यताकै विपरित छ । यी आधारभूत मान्यताका विरुद्ध गरिने कुनै पनि हर्कत राज्य विरुद्धका अपराधका रुपमा परिभाषित गर्न पर्दछ भन्ने हामी ठान्दछौ ।
कुनै पनि बहानामा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थारुलगायत जनजाति आन्दोलन र सबै खाले अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरुका विरुद्ध कुनै पनि तरिकाले अपमान गर्ने अनादर गर्ने र तिनको अवमूल्यन गर्ने कुरा नयाँ शक्ति, पार्टी र नेपाली जनता कसैलाई पनि मान्य हुने छैन । यस्ता अभिव्यक्ति र कुनै पनि खाले हर्कतको हामी घोर भत्र्सना र निन्दा गर्दछौं । यस खाले अभिव्यक्ति र हर्कत बन्द गर्न चेतावनी पनि दिन चाहन्छौं ।

साथै यस खाले हर्कतको सामना गर्ने तागत परम्परागत राजनैतिक दलहरुले तुच्छ सत्ता स्वार्थका कारणले गुमाईसकेको यस घडीमा वैकल्पिक शक्तिका रुपमा उदियमान जनताको शक्ति नयाँ शक्ति पार्टी, नेपाल दृढतापुर्वक सामना गर्न तत्पर छ ।यसका लागि सबै अग्रगामी परिवर्तनका पक्षधर नेपाली जनतामा आग्रह गर्दछौं । सबैखाले प्रतिगामी हर्कतहरुका विरुद्ध एकतावद्ध भै शान्ति स्थिरता र सुशासनका जगमा आर्थिक समृद्धिको मार्गमा लामबद्ध हुन हामी विशेष आग्रह समेत गर्दछौं ।
खिमलाल देवकोटा
प्रवक्ता

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com