अमेरिकाबाट ४५ नेपालीलाई देशनिकाला गरिएको आइसको रिपोर्ट


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

अमेरिकाबाट आर्थिक बर्ष सन् २०१८ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको छ । उनीहरुलाई आइसले हिराशतमा लिएर अमेरिकाबाट देशनिकाला गरेको हो । आर्थिक बर्ष सन् २०१८ मा अमेरिकाबाट देशनिकाला गरिएका २ लाख ५६ हजार ५ जनामध्ये आधाभन्दा धेरै मेक्सिकनहरु रहेका छन् । ग्वाटेमालाका झण्डै ५० हजार, होण्डुरसका २८ हजार ८ सय ९४, एल साल्भाडोरका १५ हजार ४४५ जनालाई अमेरिकाबाट देशनिकाला गरिएको छ ।

आर्थिक बर्ष सन् २०१७ मा पनि आइसले ४५ जना नेपालीहरुलाई नै अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु प्राय गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरु हुन् । गतबर्ष र यसबर्ष आइसमार्फत अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु बराबर छन् ।

यो तथ्यांकमा देशनिकालाको प्रकृयाका लागि आइसमा पठाइएकाहरुको विवरणमात्र उल्लेख छ । तीब्र प्रकारको देशनिकाला र भोलेन्टियर रिटर्नमा परेकाहरु पनि आइसको हिराशतमा परेको भएमा यो तथ्यांकमा उल्लेख छ । आइसले हिराशतमा नलिएका तर युएस बोर्डर गस्तीले देशनिकाला गरेकाहरु भने यो तथ्यांकमा समावेश छैनन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले विमानस्थलबाटै फिर्ता पठाएका वा अन्य सिमाबाट फिर्ता पठाएकारुह पनि आइसको हिराशतमा नपरेको खण्डमा यो तथ्यांकमा समावेश छैनन् ।

विगतका बर्षमा कतिलाई गरियो ?

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले आर्थिक बर्ष २०१६ मा अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु थिए । उनीहरु आर्थिक वर्ष २०१६ को अवधिमा अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुशार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com