अमेरिकाको भिसा प्रकृयामा फेरबदल, ७२ घण्टा अगाडि विद्युतीय आवेदन दिनुपर्ने


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

अमेरिकाको विद्युतीय भिसा प्रणालीमा फेरबदल भएको छ । अमेरिकाको विद्युतीय भिसा प्रकृया इस्टा मार्फत अमेरिका आउनेहरुले अब कम्तीमा पनि जहाज चढ्नुभन्दा ७२ घण्टा अगाडि आवेदन दिनुपर्ने भएको छ । विश्वका ३८ देशका नागरिकहरु अमेरिकाको विद्युतीय भिसाका लागि योग्य मानिन्छन् ।

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जारी गरेको सुचनामा यात्रुहरुलाई कम्तीमा ७२ घण्टा र त्यो भन्दा अगाडि विद्युतीय भिसाका लागि आवेदन दिन सुझाव दिइएको छ । इस्टाको आवेदन प्रकृयामा फेरबदल आएकाले अब तुरुन्तै विद्युतीय भिसा प्रदान नगरिने सीबीपीले स्पष्ट पारेको छ । यस अगाडि विद्युतीय भिसाका लागि योग्य देशका नागरिकले आवेदन दिनासाथ यात्रा अनुमति प्राप्त गर्दै आएका थिए ।

यदि आवेदकले यात्राकै दिनमा विद्युतीय भिसाका लागि आवेदन दिएमा त्यस्ता यात्रुसँग स्वीकृत विद्युतीय भिसा नहुने जोखिम हुने सीबीपीले स्पष्ट पारेको छ । अब ७२ घण्टा भन्दा अगाडि आवेदन नदिने आवेदकको विद्युतीय भिसा स्वीकृत नभएको खण्डमा जहाज चढ्न नदिइने समेत सीबीपीले जनाएको छ ।

भिसा छुट प्रदान गरिएका देशहरुका नागरिकलेमात्र विद्युतीय भिसाका लागि आवेदन दिन पाउँछन् । अमेरिकाको भिसा छुट गरिएका देशहरुमा अष्ट्रेलिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, फिनल्याण्ड, जापान, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, माल्टा, सिंगापुर, साउथ कोरिया, स्पेन, स्वीट्जरल्याण्ड, बेलायत लगायत रहेका छन् । उनीहरुले ९० दिन वा त्यो भन्दा कम समयका लागि अमेरिकाको यात्रा गर्नुपरेमा विद्युतीय भिसा लिन सक्नेछन् । मास्टरकार्ड, भिसा, अमेरिकन एक्सप्रेस, डिस्करभर वा पेपलमार्फत १४ डलर शुल्क तिरेर विद्युतीय भिसाका लागि आवेदन दिन सकिन्छ ।

भिसा वेभरका दिइएका ३८ देशको सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

विद्युतीय यात्रा अनुमति इस्टा सन् २००७ देखि अमेरिकामा लागु हुँदै आएको छ । भिसा छुट प्राप्त कुनै पनि देशका यात्रु विमान चढ्नु अगाडि नै अमेरिकामा प्रवेशका लागि योग्य भए नभएको निर्धारण गर्न यो कार्यक्रम लागु गरिएको हो ।

नेपाली पासपोर्ट होल्डरका लागि इस्टा कार्यक्रम उपलब्ध छैन । नेपाली पासपोर्ट होल्डरहरुले अमेरिकी दूतावास वा कन्सुलरबाट पहिले नै भिसा लिएर अमेरिका आउनुपर्छ । तर बेलायत, अष्ट्रेलिया लगायत ३८ देशमध्ये कुनै देशको पासपोर्ट लिएका नेपालीहरुले अमेरिका आउनु अगाडि विद्यतुीय भिसाका लागि आवेदन दिन जरुरी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com