अमेरिकामा एसाइलम दावी गर्नेको संख्या ७० प्रतिशतले बृद्धि


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

अमेरिकामा  एकातिर ट्रम्प प्रशासनले एसाइलमलाई नियन्त्रण गर्न अनेकौं नियमहरु ल्याइरहेको छ, तर एसाइलम गर्नेहरुको संख्या भने अप्रत्यासित रुपमा बढेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सोमबार सार्वजनिक तथ्यांक अनुशार अमेरिकामा सन् २०१७ को तुलनामा २०१८ मा एसाइलम गर्नेको संख्या ७० प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक बर्ष २०१८ मा ९३ हजारले अमेरिकामा गैरकानुनी रुपमा सिमा पार गरेर वा पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गरेका छन् । उनीहरुले धर्म, जाती, राष्ट्रियता, राजनीतिक विचारधारा वा सामाजिक समुहमा रहेका कारण स्वदेश फर्कन खतरा रहेको भन्दै एसाइलम दावी गरेका हुन् । जबकी गतबर्ष यसरी एसाइलम दावी गर्नेहरुको संख्या ५६ हजारमात्र रहेको थियो ।

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अनुशार एसाइलम दावी गर्नेहरुमध्ये ६० प्रतिशत परिवारहरु रहेका छन् । अधिकारीहरुले अमेरिकामा आप्रवासीलाई झुठो एसाइलम दावी गर्न लगाउने मानव तस्करहरुको संख्या बढेको बताएका छन् ।

हजारौं व्यक्तिहरु अहिलेपनि मेक्सिकोतर्फ प्रतिक्षा गरेर बसिरहेका छन् । सिमाक्षेत्रमा हरेक दिन कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अधिकारीहरुले ४० देखि १०० जनासम्मलाई लिने गरेका छन् । यसरी एसाइलम दावी गर्नेहरुमध्ये अधिकांशले क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्न नसक्ने कस्टम एण्ड बोर्डर प्रोटेक्सन कमिश्नर केभिन के म्याकएलिननले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com