दिनभर पनि निभ्दैनन् सडकबत्ती, नगरप्रमुख भन्छन् : हतारमा जोड्दा स्विच हाल्न छुट्यो
प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार
स्थानीय जनप्रतिनिधिको बेवास्ताले पर्साको बहुदरामाई नगरपालिकाका सडकबत्ती दिनभरि पनि झलमल्ल हुने गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि अधिकांश सडकमा बत्ती जडान गरिएका छन् । तर, निभाउने व्य वस्था नहुँदा दिनभर पनि बिजुली खेर गइरहेको छ ।निभाउने स्विच नहुँदा दिनरात बिजुली बल्ने गरेको स्थानीयबासीले बताएका छन् । पर्साको मध्य भागमा पर्ने बहुदरामाई नगरपालिकामा ९ वडा छन् । जसमध्ये वडा १ को विश्रामपुर, ५ को भौराटार, २ को बैरि याविर्ता, ७ को मौजेटोलासहित नगरदाहा, बहुवरी पिडरीलगायतका सडकमा दिनभर नै बिजुली खेर गइरहेको छ । जनप्रतिनिधि आएपछि जडान गरिएकामध्ये आधा बल्व बल्न छाडेको वडा नम्बर १ को विश्रामपुरका रमेश साहले गुनासो गरे ।
‘सडक बत्ती जडान गरेर नगरपालिकाले सराहनीय कार्य गरेको छ । तर, ‘निभाउन स्विच जडान नगर्दा दिनभर पनि बलिरहन्छ,’ साहले भने ।हतारमा जडान गर्दा स्विच राख्न बिर्सिएको नगरपालिकाको प्रतिक्रिया छ । बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र सा हले भने, ‘वर्षमा एकपटक आउने दिपावली र छठमा गाउँ उज्यालो बनाउने लक्ष्यअनुसार हतारहतार जडान गर्दा यस्तो भएछ ।’ यो समस्या सबै ठाउँमा नरहेको भन्दै उनले अधिकांश ठाउँमा एकपटकमा २० वटा बत्ती निभाउन र बाल्न मिल्ने एमसिभी जडान ग रिएको बताए । ‘नगरपालिकाले बल्बसँगै स्विच पनि पठाएको थियो,’ उनले भने, ‘चाडपर्वका वेला हतारमा जडान गरिएको हुनाले कुनै कुनै ठाउँमा स्विच हाल्न छुटेको रहेछ ।
चाँडै वडाध्यक्षहरूमार्फत स्विच जडान गर्छौँ ।’यहाँका अधिकांश गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिबीच निर्वाचित भएलगत्तै सडकबत्ती जडान गर्न होडबाजी देखिएको थियो । तर, उनीहरूले विद्युत् प्राधिकरणलाई जानकारी नै नगराई सडकबत्ती जडान गरे को खुलेको छ । विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले पूर्वस्वीकृति नलिई जडान भएको बतायो ।सडकबत्ती नियमानुसार जडान स्वीकृति लिन प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहलाई पटक–पटक आग्रह गरे पनि स्वीकृति नलिएको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताए । उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि चुहावट कम हुने विश्वास थियो । तर, जनप्रतिनिधिकै बेवास्ता देख्दा दुःख लागेको छ ।’






