एक चक्की सिटामोल किन्न ६ घण्टाको बाटो, डोको नै एम्बुलेन्स


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

पूर्वी पहाडी जिल्ला संखुवासभाको सभापोखरी गाउँपालिकाको वडा नम्बर–५, फाकुवा र सिक्दिमका स्थानीयहरु सामान्य ज्वरो आउँदा समेत ६ घण्टा धाएर बाह्रबिसे बजार जानु पर्ने बाध्यता छ ।सभापोखरी गाउँपालिकाको केन्द्र रहेको बाह्रबिसे बजारमा मात्रै स्वास्थ्य संस्था र बजार पसल छन । त्यसैले फाकुवा र सिक्दिमका स्थानीयहरु बिरामी परेमा डोकोमा बोकेर बाह्रबिसे झर्नु पर्ने बाध्यता रहेको स्थानीय सुरेश राईले बताउनुभयो ।‘गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार तोकियो, सिक्दिम र फाकुवाका सर्वसाधारणहरु एक गोली सिटामोल लिन पनि ६ घण्टा धाएर बाह्रबिसे बजार झर्नुपर्छ । बिरामी परेमा डोकोमा बोकाएर बाह्रबिसे बजार जानु पर्ने बाध्यता छ’, उहाँले भन्नुभयो ।

फाकुवा र सिक्दिम दुई वटा वडा स्थानीय पुर्नसंरचनापछि बनेका नयाँ वडाहरु हुन् । ती वडाहरुमा न त प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन्, न त निजी क्लिनिक नै छ ।पातलो गाउँबस्ती रहेको ती ठाउँमा सिक्किस्त बिरामी परेमा ज्यान गुमा उन पर्ने बाध्यता रहेको स्थानीयहरुको भनाई छ । तत्काल कुनै उपचार गर्ने माध्यम नै देखिँदैन ।सरकारी तथा निजी क्षेत्रबाट प्राथामिक स्वास्थ्य सेवा समेत पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट समेत त्यो ठाउँका सर्वसाधारणहरु बञ्चित हुनु परिरहेको स्थानीयहरु को गुनासो छ । साविक गाविस अहिले गाउँपालिका बने पनि उनीहरुको स्वास्थ्य समस्या जस्ताका तेस्तै रहेको स्थानीय सुरेश राईले बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘स्थानीय सरकार बनेपछि सबै कुराको सुविधा हुन्छ भन्ने सुनेको थिए, तर समस्या उस्तै रहेछ ।’ त्यस ठाउँमा सडक सञ्जाल नपुगेका कारण बिरामीलाई डोकोमा नै बोकेर बाह्रबिसे बजार पु¥याउनु बाहेक अर्को विकल्प समेत नभएको स्थानीयहरु बताउँछन् ।सभापोखरी गाउँपालिकाका फाकुवाका स्थानीय सूर्य राईले भन्नुभयो, ‘हामीलाई राज्यले यो देशका नागरिक नै होइन, जस्तो गरेको छ, एउटा मात्रै स्वास्थ्य संस्था यो ठाउँमा भई दिएपनि सहज हुन्थ्यो ।’उहाँले थप्नुभयो, ‘गाउँमा बिरामी भयो भने डोको मा नै बोकेर बाह्रबिसे बजारको स्वास्थ्य चौकी पु¥याउनु पर्छ, कतिले त लैजाँदा लैजाँदै धेरै जनाले बाटोमा नै ज्यान गुमाइसकेका छन् । अब कतिले अकालमा ज्यान गुमाउनु पर्ने हो भन्ने चिन्ता बढेको छ ।’

जिल्लाका धेरै अन्य ठाउँहरुमा एम्बुलेन्स बिग्रेर बिरामी अस्पताल पु¥याउन सकिएन भन्ने समाचार आउँछ, तर हाम्रो ठाउँमा डोको नै एम्बुलेन्स भएको स्थानीय पूर्ण लिम्बूले गुनासो गर्नुभयो । अप्ठ्यारो बाटोका कारणले कहिले त बोकेर लैजाने समेत धेरै समय लाग्ने गरेको स्थानीयहरुको भनाई छ ।४९ वर्षीय लिम्बूले भन्नुभयो, ‘हाम्रो ठाउँमा सडक, मोटरगाडी र एम्बुलेन्स त ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान मात्रै होला । हामी मरेपछि चाहिँ गाडी आउँछ कि ।’सभापोखरी गाउँपालिका अन्तर्गत रहेको ती सिक्दिम र फाकुवामा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी तत्कालै नराखी नहुने अवस्था रहेको सभापोखरी गाउपालिकाका अध्यक्ष रत्न सुब्बाले बताउनुभयो ।‘यी दुई वटा वडामा स्वास्थ्य समस्या अति नै आवश्यक देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँका स्थानीयहरु सामान्य औषधी लिन समेत घण्टौं हिँड्नु पर्ने बाध्यता मैले बुझेको छु । यसक्षेत्रलाई केन्द्रित गरेर स्वास्थ्य चौकीको स्थापना गर्न गाउँसभाले निर्णय गरेर अघि बढ्ने योजना छ’, अध्यक्ष सुब्बाले भन्नुभयो । सरकारले सिंहदरबारको अधिकार गाउँ सम्म पुर्‍याउने र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चारलगायतका आधारभूत आवश्यकता सर्वसुलभ ढंगबाट उपलब्ध गराउने नीति लिएको छ ।तर फाकुवा र सिक्दिमका स्थानीय नागरिकलाई गाउँमा नै स्वास्थ्य सेवा पाउने सरकारको नीति छ भनेको सुन्दा अनौठो लाग्छ होला । त्यसैले स्थानीय सरकारले बेलैमा त्यस क्षेत्रको समस्या बुझ्न आवश्यक देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com