डाक्टरले गलत औषधी दिंदा बिनिताको फोक्सो फेर्नुपरेको आज ४ बर्ष, सबैलाई दिइन् धन्यवाद


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

न्युयोर्क निवासी कलाकार बिनिता बास्कोटाले फोक्सो फेरेको ४ बर्ष पूरा भएकोमा आफ्नो पुनर्जिवनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले नयाँ जीवन पाएको चौथो बार्षिकोत्सवको अवशरमा फोक्सो दान गर्ने दाता, शुभचिन्तक, परिवार र साथीहरुलाई धन्यवाद दिएकी छिन् ।

सन् २०१४ को डिसेम्बर ८ मा न्युयोर्क निवासी कलाकार विनिता बास्कोटाको फोक्सो प्रत्यारोपण गरिएको थियो । बिनिताले सन् १९९३ मा निर्मित नेपाली चलचित्र महामाया मा महामाया नामक मुख्य पात्र (नायिका) को भूमिका निभाएकी थिइन् । उक्त चलचित्रको निर्देशन स्व. प्रकाश थापाले गरेका थिए । नेपालमा वल्र्ड भ्यू इन्टरनेशनल फाउण्डेशनमा भिडियो सम्पादनको काम गर्ने बिनिता कोरियोग्राफर र डान्सर समेत हुन् ।

काठमाडौंको पानीपोखरीमा आमा मिठु बास्कोटा र बुवा स्व. गोपालप्रशाद बास्कोटाका छोरीका रुपमा जन्मिएकी थिइन् बिनिता । उनका एक मात्र दाजू शम्भूजित बास्कोटा नेपालका ख्यातिप्राप्त संगितकार हुन् । उनी ३ दिदिबहिनीमा कान्छी हुन् । उनको श्रीमान बिदुर पौड्यालसंग सन् १९९४ मा बिहे भएको हो । उनीहरुका २० बर्षीय छोरो बिभू छन् । सन् २००० को डिसेम्बरमा अमेरिका आएपछि उनीहरु न्युयोर्कमा बसोबास गर्दै आएका छन् ।

सामान्य खोकी लागेर टिचिङ अस्पताल महाराजगञ्जमा पुगेकी उनलाई निमोनिया भएको भन्दै चिकित्सकले औषधी दिउका थिए । उनलाई चिकित्सकले एन्टिबायोटिक भनेर एक हप्तासम्मका लागि टिबीको औषधि दिएपछि उनको फोक्सोमा समस्या भएको थियो । सन् १९९८ मा नर्भिक पुगेर चेक गर्दा गलत औषधीले फोक्सोमा समस्या भएको पत्ता लागेको थियो ।

त्यसपछि दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा चेक गर्दा टीबीको औषधिको साइड इफेक्टले फोक्सोको तन्तु सुक्ने ‘फेब्रोसिस’ भन्ने रोग लागेको पत्ता लागेको थियो । त्यसपछि अमेरिका आएकी बिनितालाई स्वास्थ्यमा समस्या बढ्दै गयो । सन् २०११ देखि विनिता पूर्णतया अक्सिजनविना हिंड्न नसक्ने भइन् । अमेरिकामा चिकित्सकले फोक्सो प्रत्यारोपणको विकल्प नरहेको बताएका थिए ।

त्यसपछि कोलम्बिया अस्पताल पुगेकी उनले सन् २०१४ को डिसेम्बर ८ तारिख मृत्युलाई जितेरै छाडिन् । उनको १२ लाख अमेरिकी डलरबराबर खर्च लाग्ने डबल लङ्स ट्रान्सप्लान्ट सफल भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com