निर्मला हत्याकाण्ड: अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि कारवाहीको तयारी


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

निर्मला पन्त हत्याकाण्ड विषयलाई लिएर प्रश्न उठिरहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै प्रहरीमाथि कारवाहीको तयारी सुरु गरेको छ ।

घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनुसन्धान प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो ।
यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट निलम्बनमा परिसकेका छन् ।

यस्तै तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । अनुसन्धानमा लापरवाही, घटनास्थलको संरक्षणलगायत विषयमा प्रहरीको कमजोरी रहेको सरकारकै समितिले केलाएपछि प्रहरी प्रधान कार्यालय आफैंले प्रहरीमाथि अनुसन्धान सुरु गरेको थियो ।

आईजीपी सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथि छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए । बस्न्यातको समितिले तत्कालीन समयमा निर्मला हत्याको अनुसन्धानमा जोडिएका सबै प्रहरीलाई काठमाडौं झिकाएको थियो । स्रोतका अनुसार बर्खासीमा परेका र निलम्बनमा परेका प्रहरीबाहेक अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको प्रक्रिया सुरु भएको छ । ‘‘थप १७–१८ जना छन् । उनीहरूको बयान सकिएको छ ।

कसुरको मात्रा हेरेर कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ । कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारबाही सबैलाई हुने सम्भावना छ,’’ स्रोतले भन्यो । समितिले केही दिनमै आईजीपी खनाललाई आन्तरिक प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com