अब नेपालमा १८ बर्ष नपुगी बारमा जान नपाइने, दोषीलाई १ वर्ष कैद र १० हजार जरिवाना


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

अब नेपालमा पनि डिस्को, पब, दोहोरी साँझ लगायत बारमा जानका लागि १८ बर्ष उमेर पुग्नुपर्ने भएको छ भने उमेर खुल्ने परिचयपत्र अनिबार्य बोक्नुपर्ने भएको छ । नेपालमा १८ बर्ष उमेर नपुग्दै बारमा जाने र मादक पदार्थ सेवन गर्ने क्रम तीब्र बन्दै गएको सन्दर्भमा यो नियम कार्यान्वयन हुन लागेको हो ।

अमेरिकामा बार लगायत मादक पदार्थको कारोबार हुने मनोरञ्जनस्थलमा प्रवेशका लागि २१ बर्ष उमेर पुग्नु अनिबार्य छ । बेलायतमा १८ बर्ष नपुगेका व्यक्तिलाई मादकपदार्थ बेच्नु गैरकानुनी मानिन्छ । अष्टेलियामा पनि मादक पदार्थ सेवनका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ ।

नेपालमा प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई बार प्रकारका मनोरञ्जनस्थल प्रवेशमा रोक लगाइने भएको छ । नियम मिचेमा बालबालिकासम्बन्धी ऐन २०७५, परिच्छेद ८, दफा ६६ को उपदफा ‘ख’ उल्लंघन गरेको ठहर गरी कसुरदारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ । कुनै सञ्चालकले कानुन मिचेर कम उमेरको व्यक्तिलाई बारभित्र छिराउन पाइने छैन । उमेर नपुगेकाहरू जबर्जस्ती छिर्न खोजे उसलाई प्रहरीले पक्राउ गरी सम्झाइबुझाइ गरेर अभिभावको जिम्मा लगाउनेछ ।

भदौबाट लागू भएको नयाँ कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ ले कुनै पनि बालबालिकालाई डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बारलगायतका मनोरञ्जन क्षेत्रमा प्रवेशमा निषेध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com