थपिएको टीपीएसका लागि आवेदनको डेडलाइन डिसेम्बर २७


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार


किशोर पन्थी

सन् २०१६ को डिसेम्बर २५ बाट लागु हुनेगरी सन् २०१८ को जुन २४ सम्मका लागि थपिएको टीपीएसको अवधिबाट लाभान्वित हुन चाहनेहरुले आवेदन दिने मिति सकिन लागेको छ । थपिएको टीपीएसको अवधिबाट पनि लाभान्वित हुन चाहने योग्यहरुले सन् २०१६ को डिसेम्बर २७ भित्र पुन आवेदन दिइसक्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रबिहिन नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि थप गरेको औपचारिक घोषणा गरेको थियो । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि १८ महिना थपेको हो । थपिएको टीपीएसको अवधि सन् २०१८ को जुन २४ मा सकिनेछ ।

थपिएको अवधिबाट फाइदा लिनेगरी पुन दर्ता गर्न र वर्क परमिट रिन्यु गर्न पहिले नै टीपीएसका लागि दर्ता भइसकेको वा टीपीएस प्राप्त गरिसकेको व्यक्ति हुनुपर्ने जनाइएको छ । समयमै पुन दर्ता गर्ने र वर्क परमिटका लागि आवेदन दिनेहरुका लागि सन् २०१८ को जुन २४ सम्म अवधि रहेको वर्क परमिट प्रदान गरिने छ । सन् २०१७ को जुन २४ सम्मका लागि भने पहिले टीपीएसका लागि आवेदन दिएर वर्क परमिट प्राप्त गरेका सबैको वर्क परमिट स्वत रिन्यु गरिने भएको छ । वर्क परमिटको अवधी समाप्त हुँदासम्म नकुरेर सन् २०१६ को डिसेम्बर २७ भित्रै पुन दर्ता गराउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनुरोध समेत गरेको छ ।

सबै मापदण्ड पूरा गरेका तर पहिले टीपीएसका लागि आवेदन नदिएकाहरुले भने बिलम्ब दर्ताको मापदण्ड पूरा गरेरमात्र टीपीएसका लागि आवेदन दिनसक्ने जनाइएको छ । बिलम्ब दर्ताका लागि टीपीएसका सबै नियमित मापदण्ड पूरा गर्नुका साथै आवेदन दिन ढिलाई हुनुको विशेष कारणको मापदण्ड समेत पूरा गर्नुपर्ने जनाइएको छ । स्वेच्छिक डिपोर्टका लागि अनुमति दिइएको वा डिपोर्टहुनबाट उन्मुक्ति दिइएको अवस्था वा स्टेटस परिवर्तन, एड्जस्टमेन्ट, शरणार्थीका लागि आवेदन दिएको वा पेरोलीका रुपमा रहेको वा रिपरोलको अनुरोध पेन्डिङ अवस्थामा रहेको वा दम्पत्ति टीपीएका लागि योग्य रहेको लगायतका विशेष मापदण्ड पूरा गरेको खण्डमा मात्र पहिले आवेदन नदिएकाहरुले यसपटक नयाँ आवेदन दिनसक्ने जनाइएको छ ।

अमेरिकामा टीपीएसबाट लाभान्वित हुने नेपाली झण्डै ८ हजार ९ सय ५० जना रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यसअगाडि अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने प्रारम्भिक घोषणा गरिदा झण्डै २५ हजार नेपालीहरु लाभान्वित हुने अपेक्षा गरिएको थियो । गत बर्ष नेपाल टीपीएसका लागि कुल १३ हजार ६ सय ७६ जनाले समयमै आवेदन दिएका थिए भने केहीले बिलम्ब आवेदन समेत दिएका थिए । टीपीएसको अवधि थप्नका लागि तयार पारिएको सुचनामा झण्डै ११ हजार ९ सय १५ जना नेपाली टीपीएसको माताहतमा रहेको जनाइएपनि अन्तिम सुचनामा भने ८ हजार ९ सय ५० जना नेपालीहरु टीपीएसको माताहतमा रहेको जनाइएको थियो ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपालले भोग्नुपरेको नाकाबन्दी लगायतका समस्या, यही अगस्तसम्म १८ हजार २ सय जना नेपालीहरु अझै क्याम्पमा नै अस्थायी रुपमा बस्नुपरेको अवस्था, नेपालका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोग भूकम्पप्रभावितका लागि लगाउनेमा भएको ढिलाई, गत मे महिनामा नेपालका प्रधानमन्त्रीले पुननिर्माणका लागि अझै दुईबर्ष लाग्ने भन्दै गरेको घोषणा लगायतका कारण देखाउँदै अमेरिकामा बस्ने नेपालीहरुका लागि टीपीएसको अवधि लम्बाउने अमेरिकी सरकारले निर्णय गरेको थियो । भूकम्पपछिको नेपालको अवस्थामा क्रमिक सुधार आएपनि नेपालका नागरिकहरु स्वेदश फर्केमा उनीहरुलाई सम्हाल्न सक्ने अवस्थामा नेपाल अझै नरहेको भन्दै अमेरिकी सरकारले टीपीएसको अवधि लम्बाएको हो । विभिन्न अमेरिकी सरकारी एजेन्सीहरुसँगको सरसल्लाहपछि आफू नेपालका लागि टीपीएसको अवधि लम्बाउने निष्कर्षमा पुगेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले सुचनामार्फत जनाएका छन् ।

 

टीपीएसपछि अमेरिकामा रहेका नेपाली

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका रहेका नेपालीहरु पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गरिरहेका छन् । टीपीएसप्राप्त गरिसकेपछि कैयन नेपालीहरु एड्भान्स परोल अर्थात् यात्राअनुमतिपत्र प्राप्त गरेर नेपाल पुगेर आफ्ना परिवारलाई भेटेर समेत फर्किसकेका छन् ।

विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गरिरहेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गरिरहेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्ने भएकाले त्यस्ता व्यक्तिले पनि टीपीएसबाट फाइदा लिइरहेका छन् । उनीहरुको टीपीएस स्वीकृत भएमा अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ ।

कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com