मिस ट्यालेन्ट’ को उपाधि जापानलाई, मल्टिमिडिया अवार्डको लागि शृंखलालाई भोट गर्ने अन्तिम दिन आज


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा गएको छ । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।

यससँगै मिस वल्र्ड २०१८ को फाइनल (टप ३०) मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालकी श्रृंखला खतिवडा फाइनलमा पुगेकी थिइनन् । कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।

शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’ श्रृंखला मल्टिमिडिया अवार्डको प्रमुख दावेदार हुन् । यो अवार्डका लागि भोटिङ गर्ने आज अन्तिम दिन हो । शृंखलाले अहिलेसम्म ३५ प्रतिशत भोट पाइरहेकी छन् ।

यदि मल्टिमिडिया अवार्ड जितेको खन्डमा उनको फाइनल राउन्डमा पुग्ने बाटो सहज हुनेछ । यसका साथै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा पनि शृंखलाको प्रस्तुति राम्रो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com