दुई शताब्दी पहिलेको युद्ध इतिहास : एउटा नमेटिने सत्य


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

SAMSUNG CAMERA PICTURES

देहरादुन भारत उत्तराखण्ड राज्यको राजधानी । उत्तराखण्ड नेपालसँग सीमा जोडिएको भूभाग । अनि, नेपालसँग सामिप्यता राख्ने भौगोलिक क्षेत्र । जसरी हिमाली, पहाडी र तराईको भूभागले नेपालको भौगोलिक अस्तित्व कायम छ, त्यसैगरी हिमाली, पहाडी र तराईको उस्तै भूगोलले उत्तराखण्डको बनोट खडा छ । त्यसैले त उत्तराखण्ड निवासी भारतीय नागरिकहरुसमेत नेपालसँग घनिष्ट भएको जिकिर गर्छन् ।

देहरादुन भन्ने वित्तिकै नालापानी नसम्झने नेपाली सायदै होलान । देहरादुन भन्ने वित्तिकै खलङ्गा (किल्ला) नसम्झने नेपालीभाषी भारतीय गोरखाली समुदाय कोही छैन होला । नालापानी खलङ्गाको कथा स्कुले जीवनमा सामाजिक शिक्षाअन्तर्गत नेपालको राज्य विस्तारको रोमाञ्चक इतिहास पढ्दा पहिलोपटक थाहा भएको थियो । वीर नेपाली सपुतहरु ब्रिटिश साम्राज्यवाद विरुद्ध ज्यानको पर्वाह नराखी कसरी लडेका थिए ? नालापानीको त्यो रहस्यले झन बढी कौतुहल नजन्माउने कुरै भएन ।

इतिहासको स्मरण
सन् १८१४ को अक्टोबर ३० र ३१ । नेपाली र अंग्रेज फौजबीच भीषण लडाईं भएको नालापानी खलङ्गा । नालापानी पर्वतीय श्रङ्खलाको उच्च भूबनोट । नेपाली फौजले उच्च रणकौशलका लागि यो पहाडी भूभाग रोजेको थियो । रणनीतिक रुपमा यो भूभाग यसकारणले पनि महत्वपूर्ण थियो कि एकातिर प्रकृतिले दिएको पहरे बनोट, अर्कोतिर दुश्मनलाई निकै टाढासम्म देख्न सकिने भूगोल । हो, नेपाली सेनाको यही युद्ध कौशल रणनीतिका कारण नालापानीमा किल्ला खडा भयो । त्यसो त, सामारिक महत्व राख्ने नेपालका सबै पुराना गढी र कोतहरु पनि यस्तै भौगोलिक फोर्टिफिकेसनमा रहेको पाइन्छ । जसले नेपालको आफ्नै खाले युद्धकला र सामरिक रणनीतिको प्रतिनिधित्व गर्छ । भारतीय र बृटिस सेनाले समेतले यस्तो खाले फोर्टिफिकेशनलाई आजपर्यन्त उदाहरणको रुपमा लिने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजन पौडेल

८/१० पुस्ताअघिका हाम्रा वीर योद्धाहरु, जसको नेतृत्व कप्तान बलभद्र कुँवरले गरेका थिए, ले नालापानीमा अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित अंग्रेज (इष्ट इन्डिया कम्पनी, बृटिश साम्राज्यवादको एक अंश)सँग वीरतापूर्वक लडेका थिए । अंग्रेजका लागि देहरादुन, श्रीनगर, कुमाउ, गढवालमाथि कब्जा जमाउन नालापानीमाथि विजय पाउनु अनिवार्य थियो । अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशल, साहस, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध ग-यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना नै हो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भयो । अंग्रेजले ३१ जना अफिसर र ७५० सैनिक जवानलाई गुमायो भने ३५ जना अफिसर र १५ सय भन्दा बढी अंग्रेज सैनिक जवान घाइते भए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय जना घाइते भएको अनुमान गरिएको छ । इष्ट इन्डिया कम्पनीले आफ्ना सबैभन्दा सुयोग्य कमाण्डर जिलेस्पीलाई गुमाउँदा मर्माहत भएको थियो । जबकी जिलेस्पीले अन्य सबै युद्धमा विजय प्राप्त गर्दै आएका थिए ।

अंग्रेजले युद्धको नियम उल्लंघन गर्दै एकपक्षीय रुपमा युद्धको घोषणा गरेको थियो । प्रतिक्रियामा बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले जिलेस्पीको मृत शरीरलाई ससम्मान अंग्रेज फौजलाई हस्तान्तरण गरेको थियो, युद्धको नियमलाई पालना गर्दै । नेपाली फौजको यो महानतालाई अंग्रेज इतिहासकार फ्रिन्सेपले ‘युद्धमा मारिएका दुश्मनको लास लैजान दिएर नेपाली फौजले जुन वीरोचित उदारता देखाएका छन् त्यो अंग्रेजका निम्ति नितान्त नवीन र आश्चर्योत्पादक थियो’ भनेर लेखेका छन् ।

मेजर जनरल जिलेस्पीको मृत्युपछि छटपटाएको अंग्रेजले पुनः नयाँ रणनीतिका साथ नालापानीमाथि आक्रमण गर्यो । जिलेस्पीको मृत्युपछि मर्माहत भएको अंग्रेजले पछिल्लो पटक युद्ध नियमको पालना गरेन । जिलेस्पी मारिएको झण्डै एक महिनापछि नोभेम्बर २७ देखि २९ सम्म पुनः बम हमला गर्दै नालापानी किल्ला कब्जाको लागि अघि बढेको अंग्रेजले किल्लामा जाने पानीको मुहान पत्ता लगाएर भत्काइदियो । पानी खान नपाएर व्याकुल भए पनि निरन्तर युद्धमा संलग्न भएर नेपाली फौजले फेरि एकपटक वीरतापूर्वक लडाईं लड्यो । नेपाली फौजमा नियमित फौज मात्र नभै महिला, केटाकेटीले समेत अदम्य साहस र वीरता देखाए, जुन वीरता देखेर दुश्मन अंग्रेज सेनासमेत छक्क परेको थियो । अन्त्यमा, किल्लाभित्रको कमजोर अवस्था, निरन्तर थकित सेना र घाइते सेनाको छटपटाहटका बीच किल्ला छोड्ने निर्णयमा पुगेको थियो नेपाली फौज । कमाण्डर बलभद्र कुँवरले आफूसँग बचेका झण्डै ७० जना सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नाङ्गो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेज सेनाले मुक्त कण्ठले प्रशंसा गर्न बाध्य भएको थियो ।

यसैले त अंग्रेजले आफ्ना मृत सेनापतिको सम्झनामा स्मारक बनाउँदै गर्दा उनकै दुश्मन नेपाली सेनाका कमाण्डर बलभद्र कुँवरको पनि स्मरण गरे । संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र साहसका सामु अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ । भौतिक रुपमा पराजित भए पनि नेपाली फौजको अदम्य सहास, पराक्रम र सौर्यलाई अंग्रेजहरुले विश्लेषण गरेका कारण उनीहरुले जनरल जिलेस्पीकै हैसियतमा उनीसरह सम्मान दिएर बलभद्र कुँंवरको समेत स्मारक बनाए । र, त्यहाँ उनीहरुले लेखे, ‘किल्लाका कमाण्डर हाम्रा वीर शत्रु बलभद्र र उनका पराक्रमी गोर्खाहरुको सम्मानमा…’


संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र साहसका सामु अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ
………………………………….

देहरादुनको पूर्वीभूभागस्थित सहस्रधारा रोडसँगै जोडिएको एउटा बगैंचाभित्र अहिले पनि ती दुई स्मारक ठडिएका छन् । नालापानी किल्ला नजिकै बनेका यी स्मारकले दुईसय वर्ष अघिको युद्ध इतिहासलाई जीवित राख्न सफल भएका छन् । आज पनि यो स्मारक क्षेत्रलाई भारतीय पुरातत्व विभागले संरक्षित गरेको छ । नालापानी किल्ला यसकारणले महत्वपूर्ण छ कि यो किल्लाको नेतृत्व तत्कालीन नेपाली सेनाअन्तर्गत पुरानो गोरख गणले सम्हालेको थियो । यस किल्लाको प्रमुख रक्षक पल्टन ‘पुरानो गोरख गण’ नेपाली सेनाभित्रको मगर पल्टन थियो । संसारलाई हल्लाउन सक्ने गोर्खा जातिको इतिहासभित्र पुरानो गोरख गणको भूमिका महत्वपूर्ण रहेको छ । अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कूटनीतिक चातुर्य देखाएका थिए । गोर्खाली शब्द यही किल्लाबाट उत्पत्ति भएको कुरा अंग्रेज सेनानायक फ्रेजरले आफ्नो युद्ध डायरीमा लेखेका छन् ।

यही युद्धपछि अंग्रेजका लागि गोर्खा फौजको स्थापना भयो । र, कालान्तारमा गोर्खाको नाममा गोर्खाभर्ती केन्द्रको स्थापना हुनपुग्यो ।

अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कूटनीतिक चातुर्य देखाएका थिए
………………………………….

नालापानीको अहिलेको अवस्था ?
नालापानी खलङ्गालाई जोगाउन देहरादुनमा बलभद्र खलङ्गा विकास समिति क्रियाशील छ । स्थापना भएको धेरै वर्ष भए पनि सुरुमा त भारतीयहरुले नेपालीभाषीलाई हेर्ने दृष्टिदोषका कारण समितिले केही काम गर्न नसकेको देखिन्छ । तर, सन् ९० को दशकमा भारतमा सुरु भएको नेपाली भाषा आन्दोलन पछि र उत्तराखण्ड उत्तरप्रदेशबाट छुट्टै राज्य बनेपछि भने नालापानी खलङ्गा विकासका लागि केही प्रयत्न भएका छन् ।

भारतको वन विभागअन्तर्गत रहेको नालापानी किल्ला धेरैपछि र धेरै प्रयत्नपछि मात्र संस्कृति विभागअन्तर्गत ल्याइएको थियो । केन्द्रीय सरकारसँग धेरैपटक लविङ गरेपछि संस्कृति विभागमा नालापानी खलङ्गाको स्वामित्व हस्तान्तरण भएको थियो । अहिले यो ठाउँमा युद्ध स्मारक बनाइएको छ । स्मारकको संरक्षण र एकीकृत विकास गर्न भने अझै धेरै बाँकी देखिन्छ ।

अर्कोतर्फ, पहुँच भएका तिब्बती शरणार्थीहरु नालापानी नजिकै आएर मुकाम खडा गरेर बसेका छन् । नालापानीले चर्चेको वन क्षेत्रमध्ये धेरैजसो भूभागमा त तिब्बती झण्डा फहराएको देखिन्छ । त्यही तिब्बती शरणार्थी क्याम्पकै बाटो हुँदै नालापानी खलङ्गाको मुख्य ठाँउमा पुग्नलाई केहीवर्षअघि मात्र मोटरेवल सडक पुगेको छ ।

नालापानी पर्वतको टाकुरामा गोर्खाली चिनोको रुपमा बलभद्र खलङ्गा युद्ध स्मारक बनाइएको छ । यो स्मारक बनाउन पनि धेरै नै पापड बेल्नुपरेको अनुभव छ, देहरादुनवासी गोर्खालीसँग ।

सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो युद्ध स्मारकभन्दा करीब तीन किलोमिटर टाढा युद्धक्षेत्रमै यो नयाँ स्मारक बनेको छ । केही तल रहेको सागरतालमा अहिले पनि युद्धको सम्झना गरिन्छ, जहाँ गोर्खाली समुदायले अहिले पनि खलंगा मेला भर्नेगर्छन् ।

तर, सोचेअनुसार काम नहुँदा र कामका लागि आवश्यक सहयोग प्राप्त नहुँदा नेपाली सेनाले बनाएको किल्लाको उत्खनन् भएको छैन । पुरातात्विक महत्वका वस्तुहरुको खोजवीन हुन, उत्खनन हुन र युद्ध क्षेत्रको घोषणा हुन बाँकी छ । नेपाल, भारतीय गोर्खाली समुदाय र विश्वभर छरिएका नेपाली एवं गोर्खालीका लागि नालापानी किल्ला गर्व गर्ने ऐतिहासिक सम्पदा भएको कारण यसको थप संरक्षण आवश्यक छ ।

नालापानीका लागि नेपाली पहल
२०५ वर्ष अघिको घटना । तर, नालापानीले नेपालीलाईं सधैंभर झक्झकाइरहन्छ । एउटा पराक्रमी युद्धमोर्चाको सम्झना गराइरहन्छ । यसकारणले नालापानी नेपालका लागि छुटाउनै नहुने तीर्थस्थल हो । नालापानी भारतमा बसोबास गर्ने दशौं लाख नेपालीभाषी गोर्खालीका लागि पवित्रस्थल हो, इतिहासको सम्झना गराउने थलो हो ।

बिडम्बनै भन्नुपर्छ नालापानीलाई सम्झिन सकेन, मुलभूमि नेपालले । वीरताको चिनोलाई नेपालले चिन्न सकेन । विशाल नेपालका लागि वीर योद्धाहरुको वलिदानलाई काठमाडौंको केन्द्रीय सत्ताले सम्मान गर्न सकेन । आज नालापानी छिमेकी भारतको एक भौगोलिक अंग भए पनि नालापानीभित्रको नेपाली अपनत्व एवं समाजशास्त्रीय मनोविज्ञानलाई जोगाइराख्न नेपालले भारतसँग आग्रह गर्न समेत सकेन ।

बरु, नालापानी खलङ्गालाई जोगाउन भारतमै बसोबास गर्ने नेपाली भाषी गोरखाली समुदायले केही पहल गरेका छन् । ती गोरखालीहरु जसका पुर्खा नेपाल राज्य विस्तारकै लागि लडेका थिए, ती नेपालीभाषी गोरखालीहरु, जसका पुर्खाले कुनै समय आफ्नै दुश्मन फौज अंग्रेज फौजसँग लडे पनि कालान्तरमा अंग्रेजका लागि समेत लड्न पुगे र अहिले भारतीय सेनामा समेत माथिल्लो दर्जामा पुग्न सफल भएका छन् । गर्व गर्छन् उनीहरु, नालापानी खलङ्गाप्रति । यो अर्को अनौठो संयोग भएको छ, गोरखाली जातिका लागि, नेपाली रगत मिसिएका सन्ततिका लागि ।

नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झनसमेत लायक मानेन । बरु, भारतीय शासकसामु शिर झुकाउने क्रम अझै पनि जारी छ
………………………………….

नेपालका लागि नालापानी खलङ्गा ऐतिहासिक महत्वको ठाउँ हो, तर, खलङ्गा विकासका लागि नेपालबाट कुनै पहल भएको छैन् । नेपालबाट नालापानीलाई इतिहासका पुस्तकमा सम्झेर सामान्य ज्ञानको जानकारी दिनेबाहेक अरु कुनै पहलकदमी भएको छैन । विश्वका धेरै देशहरुले त्यस्ता ऐतिहासिक स्थलको संरक्षणका लागि पहल गर्दैआएका छन् । भूगोल आफ्नो देशको नभए पनि सरकारीस्तरमा भएका लविङबाट अर्को देशको भूगोलभित्रका कतिपय ऐतिहासिक स्थानको सम्वद्र्धन र विकास गरिएका उदाहरण बाँकी विश्वका धेरै देशमा पाइन्छ । तर, अंग्रेजसँग सुगौली सन्धिबाट शिर निहुराएको नेपालको शासकवर्गले भारतीय शासकवर्गसँग समेत कहिल्यै शिर ठाडो पारेर कुरा राख्ने हैसियत बनाएन । नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झनसमेत लायक मानेन । बरु, भारतीय शासकसामु शिर झुकाउने क्रम अझै पनि जारी छ ।

नालापानीमा व्यक्तिगत तवरमा घुम्न पुगेका नेता, प्रशासक र नागरिकबाहेक अरु कोही पुगेका छैनन् । यसकारण, गोर्खालीको पहिचान दिएको यस ठाउँलाई जोगाउन, युद्धस्मारक बनाउन र एउटा पवित्र स्थलको रुपमा कमसेकम नेपालीभाषी गोरखाली समुदाय र नेपालले पनि गर्व गर्न लायक पर्यटकीयस्थल बनाउन नेपालबाट पहल हुन जरुरी छ ।
पुर्खाले सिंचित गरेका रक्तवीजका कणहरु आजको हाम्रो पुस्ताले नालापानीमाथि न्याय गर्न सकेन । हामी भजन गाउँछौं, ‘नालापानी किल्लामा खुकुरी घुमे फनन’ । हामी अझै पनि नालापानीको व्याज खाइरहेका छौंं । हाम्रो मुलुक हाम्रा ती वीरवीरङ्नाहरुको रगतबाट कोरिएको छ, जसले अंग्रेज साम्राज्यवादविरुद्ध वीरतापूर्वक युद्ध लडेको थियो, तर उनीहरुलाई नसम्झेर उनीहरुप्रति मरणोपरान्त अन्याय गरेका छौं ।

आज नालापानी युद्धको २०४ औं वर्षगाँठ । भारतीय गोर्खाली समुदायले त्यो युद्धलाई सम्झिन बलभद्र खलङ्गा विकास समिति (नालापानी देहरादुन)ले नालापानी नजिकै ४४औं खलङ्गा मेलाको आयोजना गरेको छ । । सन् १८१४ अक्टोबर ३० को रातिदेखि नोभेम्बर २९ सम्म नालापानीको युद्धमा पुर्खाको वीरता/सौर्य र युद्धको क्रममा पाएको दुःख दुबैले हामीलाई पनि फेरि एकपटक नालापानीलाई सम्झाएको छ ।

राज्यस्तरबाट नेपालले त्यो महान् युद्धलाई नसम्झे पनि वीर योद्धाहरुको सम्झनामा श्रद्धास्वरुप हाम्रो शिर झुकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com