चौतारामा सार्वजनिक धारा गाड्ने समाजसेवी आमा


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

समाजसेवा गर्नेहरु सार्वजनिक सरोकारका बिषयमा केन्द्रित भएर सिङ्गो समाजलाई नै सकारात्मक सन्देश छोडेर जान्छन । समाजसेवा कसैले शिक्षामा गर्न रुचि राख्छन त कोहि स्वस्थ, गरिबी लगायत अन्य धेरै कुराहरुमा समाजको हित हुने काममा सधैं प्रेरित हुन्छन । त्यस्तैमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ की एक आमाले सार्वजनिक स्थल चौतारामा धारा गाडेर सबैका लागि पानी पिउन सहज होस भनी समाजसेवा गर्नुभएको छ ।

स्थानीय शहिद गोविन्द गौतम टोल निवासी खगिसरा दवाडीले आफ्ना सासुससुराको सम्झानामा एक थान सार्वजनिक धारा निर्माण गर्नुभएको हो । नेपाल देखि भारत सम्मका बटुवाहरु आउने नमुना सामुदायिक बनछेउको चौतारामा धारा गाड्नुभएकी दवाडीले यस कामले आत्मैदेखि सन्तुष्टि मिलेको बताउनुभयो । उहाँले हरेक प्राणीलाई अत्यावश्यक पानीको धारा स्थापना गर्न पाउदा निकै खुसी महसुस भएको बताउनुभयो । उहाँका कान्छा छोरा रोजगारीका लागि जापान पुगेका गोकुल दवाडीले आमाको इच्छा अनुसार सार्वजनिक स्थलमा धारा गाड्न रकम उपलब्ध गराइदिनुभएको हो । सार्वजनिक स्थलमा निर्माण भएको धारा निर्माणका लागि स्थानीय युवा समुहले भरपुर सहयोग गरेको थियो ।

जोश र जाँगरका साथ एकजुट भएर समाजिक काममा उत्साहित हुने शहिद गोविन्द गौतम टोलका युवा देखि बृद्ध सम्मको उत्साहले धेरै प्रगतिशील काम गरेर देखाएको छ । सोही स्थानमा २ दशक अघि स्थानीय फणीन्द्र सापकोटाले निर्माण गर्नुभएको चौतारा जिर्ण भएपछि हाल आधुनिकशैलीमा पुनर्निर्माण गर्नुभएको छ । वनसंगै निर्माण भएको चौताराले टोलको सुन्दरतामा टेवा पुर्याएको छ ।

त्यस्तै, सोही स्थानमा रहेको कोटेश्वर महादेव मन्दिरले समेत टोलको मेलमिलापलाई प्रकाश पारेको छ । मन्दिरका अध्यक्ष दुर्गालाल चापागाईंले नेतृत्व लिएदेखी मन्दिरको स्वरुपमा निकै परिवर्तन आएको छ । सानो अनि सुन्दर नमुना सामुदायिक वनसंगै रहेको यस मन्दिर पर्यटकिय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ । यस क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com