कटियाको मासु, जिब्रै रसाउने ! - KHASOKHAS

कटियाको मासु, जिब्रै रसाउने !

बरमझियाको पेडा, पालुङको मुला, भक्तपुरको दही अनि कलैयाको सेकुवाजस्तै रौतहटको कटियाले खाद्यक्षेत्रमा दह्रै उपस्थिति जनाएको छ । स्थानीय बज्जिका भाषामा कटियाको अर्थ माटोको ‘सानो घैँटो’ कोहिया पनि भन्ने गर्छ । पारम्परिक तरिका सँगै स्थानीय स्वाद समेटेर कोहियाभित्र खसीको मासु, प्याज र मसला मिसाएर माटोकै ढकनीले छोपेर कोइलाको रापमा पकाइन्छ । कोइलाको रापमा मासुले भरिएको कटिया पकाउन थालेपछि वरिपरिको वातावरणमा यसको सुगन्ध फैलिन्छ अनि मासुका पारखीहरु तानिँदै आइपुग्छन् कटिया पसलहरुमा ।

मासुका थुप्रै परिकारहरु भुटन, छोइला, कचैला, मःम, सेकुवा, इष्टु, र तासको आफ्नै स्वाद हुन्छ तर यी सबैभन्दा फरक स्वाद भएको कटियाको मासु एकपटक चाख्नेले कहिल्यै बिर्सँदैनन् । माटोको कोहियामा ३५० ग्राम खसीको मासु हालेर मासुमा लाग्ने मसालाहरू हालेर कोइलाको आगोमा पकाइन्छ । मासुको अन्य परिकारभन्दा यसको स्वाद भिन्न हुने हुनाले यसको लोकप्रियता बढ्न थालेको हो । कटियाको बढ्दो लोकप्रियताले खाद्यक्षेत्रमा रौतहटलाई नयाँ किसिमले चिनाउन थालेको छ।

यस प्रविधिको प्रयोग गरी भारतको राजस्थानमा राजपरिवारका सदस्यहरुले माटोको बन्द भाँडोमा मासु पकाउने चलन इतिहासमा पनि भेटिन्छ । रौतहटको कटहरिया बजारमा झण्डै २० वर्ष पहिले हिरालाल साहले यस प्रविधिले मासु पकाउन सुरुआत गरेका थिए । उनले सुरु गरेको यो परिकार पछि कटहरियाको नाम सँगै जोडिएर कटिया बनेको स्थानीयहरु बताउँछन् । हिरालालको कालगतिले मृत्यु भएपछि उनका छोरा विजय साहले कटहरिया कटिया पसल सञ्चालन गरेका छन् । यस्तै कामेश्वर साह, गणेशप्रसाद कलवार, शिव शंकर कलवारले पनि व्यावसायिक रुपमै कटिया पसल सञ्चालन गरेका छन् । कटहरियामा कटियाको मासु लोकप्रिय बनेपछि रौतहटको गौर चन्द्रनिगाहपुरको मध्य बजार गरुडा बजारमा कटियामा मासु पकाउने होटेलहरु निकै फस्टाएका छन् । गरुडामा कटिया पाक्न थालेको एक दशकमै यसको माग धेरै हुन थालेको छ । बढ्दो लोकप्रियताले रौतहटका अन्य सानातिना बजारहरूमा समेत स्वादिलो मासु कटियाको व्यापार फस्टाएको छ।

मध्य रौतहटसम्म छिर्ने कर्मचारी, एनजिओ कार्यकर्ता तथा परपाहुनाहरूको पहिलो रोजाइ नै कटिया हुने गरेको छ । कटिया खान बाहिरबाट समेत मानिस आउन थालेको लक्ष्मी मिट हाउसका सञ्चालक तथा गरुडामा कटियाको सुरुआत गर्ने लक्ष्मी साह बताउँछन् । ‘कटियाको मासु मात्र होइन, अहिले त भात र तरकारीको समेत अर्डर आउन थालेको छ,’ साह भन्छन् । माटोको भाँडोमा खानेकुरा पकाउँदा स्वाद नै नौलो हुने र स्वस्थसमेत हुने हुनाले पहिले अर्डर आएपछि कटियामै सम्पूर्ण खाना पकाइदिने गरेको उनी बताउँछन् । मांसाहारीका लागि कटियामा मासु पाकेजस्तै शाकाहारीका लागि भात र तरकारी कटियामै पकाउँदा झनै स्वादिलो हुने गरेको उनको भनाइ छ।

मासु पारखीहरू भने कटिया खानकै लागि रौतहट धाउन थालेका छन् । वीरगञ्जदेखि जनकपुरसम्मका मानिस कटहरियामा कटिया खानकै लागि आइरहेको तर गरुडामा कटियाको कारोबार सुरु भएपछि भने कटहरियामा यो क्रम केही घटेको कटियामा पहिलोपटक मासु पकाउने कटहरियाका कामेश्वर साहको भनाइ छ । बाहिरबाट आउनेले आफूले खाने र प्याक गरेर घरका सदस्य तथा आफन्तका लागि लैजाने चलन बढेकोले यसको दिनप्रतिदिन प्रसार भइरहेको उनी बताउँछन्।

गरुडामा भने कटियाको व्यवसाय कटहरियाभन्दा निकै फस्टाएको देखिएको छ । यहाँका लगभग एक दर्जन होटलबाट दैनिक सरदर तीन सय कटिया बिक्री हुने गरेको छ । कटियाका लागि दैनिक तीन सय किलोभन्दा बढी मासु खपत हुने मासु व्यापारीहरु बताउँछन् । खानाको क्षेत्रमा जिल्लाको पहिचानको रूपमा कटिया स्थापित हुन लागेकोले बाहिरका परपाहुनालाई सजिलोसँग स्वागत गर्ने माध्यम बनेको उद्योग वाणिज्य संघ रौतहटका कोषाध्यक्ष धर्मनाथप्रसाद जयसवालको भनाइ छ । मासुको नयाँ परिकार र नयाँ स्वाद लिन चाहनेका लागि कटहरिया र गरुडा नयाँ गन्तव्य बन्दै गएको जयसवालको कथन छ।

समूहमा मिलेर खाजा तथा खाना खानेको पहिलो रोजाइ नै कटिया हुने गरेको छ । साथीभाइलाई होटलमा कटियाको स्वादले स्वागत गर्ने संस्कृतिको विकास भइरहेको छ । यसैले कटियाको माग र व्यापारमा निरन्तर वृद्धि भइरहेको पाइएको छ । “एकपटक रौतहट आएर सरुवा भई फर्किसकेका कर्मचारीले बाहिर गएर कटियाको प्रशंसा गर्ने गरेका छन् । यसले गर्दा कोशेलीको रूपमा कटिया बाहिर जाने प्रवृत्ति पनि बढेको छ” सञ्चारकर्मी सञ्जय मिश्रको कथन छ । यसले सानै समूहमा भए पनि रौतहटमा कटिया पर्यटनको शुरुआत गरेको मिश्रको धारणा छ।

माटोको भाँडोमा पकाइने मासुको विशेष परिकार कटिया नेपालको राजधानी काठमाडौँ, पोखरा, विराटनगर, बुटवल र भारत, विहारको राजधानी पटनासम्म पुगिरहेको कटहरिया बजार घर भई हाल गरुडामा कटिया पसल सञ्चालन गरेका सुदामा साहले बताए । यसले मासु व्यवसायी, होटल सञ्चालक र माटोको भाँडो बनाउने कुमालेलाई समेत फाइदा पुगेको छ । वर्षमा तीसदेखि पचास हजार कटियाको भाँडोको व्यापार मासु पकाउनका लागि हुने गरेको अनुमान छ।

प्लास्टिकका भाँडाका कारण पेसा नै संकटमा परेका कुम्हाल समुदायका लागि कटियाका लागि चाहिने कोहियाले भने पेसा जोगाइ राख्न निकै सघाएको छ । एकपटक मासु पकाइ सकेपछि पुनः अर्को भाँडा प्रयोग गर्नुपर्ने भएकोले कुम्हालेका लागि कटिया व्यापारले प्रत्यक्ष लाभ दिइरहेको मत्सरीका स्थानीय उमेश पण्डितले बताए।

बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com